YouVersion लोगो
खोज आइकन

लूका 11

11
येशूले प्रार्थनाबारे सिकाउनुभएको
1एक दिन येशू कुनै ठाउँमा प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँले प्रार्थना सिद्ध्याउनुभएपछि उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “प्रभु, यूहन्‍नाले आफ्ना चेलाहरूलाई सिकाएझैं हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्।”
2उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले प्रार्थना गर्दा यसो भन:
“ ‘हे पिता,
तपाईंको नाउँ पवित्र गरियोस्,
तपाईंको राज्य आओस्।
3प्रत्येक दिन हामीलाई हाम्रो दैनिक भोजन दिनुहोस्।
4हाम्रा पापहरू क्षमा गरिदिनुहोस्,
किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौं।
अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ”
5त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानौं तिमीहरूमध्ये कसैको एकजना मित्र छन्, र उनी मध्यरातमा तिनीकहाँ गएर भन्छन्, ‘मित्र, मलाई तीनओटा रोटी पैँचो दिनुहोस्, 6किनकि मेरा एकजना मित्र यात्राबाट मकहाँ आएका छन्, तर तिनलाई टक्र्याउन मसँग केही पनि छैन।’ 7तब भित्रबाट तिनले जवाफ दिन्छन्, ‘मलाई दुःख नदिनुहोस्। ढोका बन्द भइसकेको छ, र मेरा केटाकेटीहरू मसँगै ओछ्यानमा छन्। म उठेर तपाईंलाई केही दिन सक्दिनँ।’ 8म तिमीहरूलाई भन्दछु: यद्यपि उनी एक मित्र भएको कारणले तिनले उठेर उनलाई रोटी नदेला, तापनि उनले खुरन्धार मागिरहेका कारणले गर्दा तिनी उठेर उनलाई खाँचोपरे जति दिनेछन्।
9“त्यसकारण म तिमीहरूलाई भन्दछु: माग अनि तिमीहरूलाई त्यो दिइनेछ; खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, अनि तिमीहरूको निम्ति ढोका उघारिनेछ। 10किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
11“तिमीहरूमध्ये कुनचाहिँ त्यस्तो बुबा होला, जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, अथवा माछा माग्दा त्यसलाई माछाको सट्टा सर्प देला? 12अथवा अण्डा माग्दा त्यसलाई बिच्छी देला? 13यदि तिमीहरू जो दुष्‍ट भइकन पनि आफ्ना छोराछोरीहरूलाई असल थोक दिन जान्दछौ भने झन् उहाँसँग माग्नेहरूलाई तिमीहरूका स्वर्गीय पिताले कति प्रशस्त गरी पवित्र आत्मा दिनुहुनेछ!”
येशू र बालजिबुल
14एक दिन येशूले एउटा व्यक्‍तिबाट भूत निकाल्दै हुनुहुन्थ्यो, जो बोल्न नसक्ने थियो। भूत निस्केपछि त्यो बोल्न नसक्ने मानिस बोल्यो र भीड छक्‍क पर्‍यो। 15तर तिनीहरूमध्ये कतिले भने, “यिनले ता भूतहरूको शासक बालजिबुलद्वारा भूतहरू धपाउँछन्।” 16अनि अरूहरूले स्वर्गबाट एउटा चिन्ह माग्दै उहाँको परीक्षा गरे।
17येशूले तिनीहरूका विचार थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो: “आपसमा फाटो भएको कुनै पनि राज्य नष्‍ट भएर जान्छ, अनि आपसमा फाटो भएको जुनसुकै घर पनि पतन हुन्छ। 18यदि शैतान पनि आफ्नै विरुद्धमा विभाजित हुन्छ भने, त्यसको राज्य कसरी टिक्न सक्छ? मैले बालजिबुलद्वारा भूत निकाल्छु भनी तिमीहरूले दाबी गरेका कारण म यो भन्दैछु। 19तर यदि म बालजिबुलद्वारा भूतहरू निकाल्छु भने तिमीहरूका चेलाहरूले चाहिँ कसद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्। 20तर यदि म परमेश्‍वरको शक्‍तिद्वारा भूतहरू निकाल्छु भने परमेश्‍वरको राज्य तिमीहरूमा आइसकेको छ।
21“जब कुनै बलियो मानिस हातहतियारले सुसज्जित भई आफ्नो घरको रक्षा गर्दछ, तब त्यसको सम्पत्ति सुरक्षित रहन्छ। 22तर त्यसभन्दा बलियो अर्को मानिसले त्यसलाई आक्रमण गरेर जित्यो भने त्यो मानिसले भरोसा गरेका हातहतियार त्यसले खोसेर लैजान्छ, र लुटका मालसामान बाँड्छ।
23“जो मसँग छैन, त्यो मेरो विरुद्धमा हुन्छ, अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्‍ट पार्दछ।
24“जब कुनै अशुद्ध आत्मा कुनै मानिसबाट निस्किन्छ, तब त्यो ओबानो ठाउँहरूमा विश्राम खोज्न जान्छ, अनि त्यसले भेट्टाउँदैन, तब त्यसले भन्छ, ‘म निस्केर आएको घरमा नै फर्केर जानेछु।’ 25जब त्यो आइपुग्छ, त्यसले त्यो घर सफा गरिएको र सुव्यवस्थित पाउँछ। 26त्यसपछि त्यो जान्छ, र आफूभन्दा अझै दुष्‍ट अरू सात आत्माहरूलाई लिएर आउँछ, अनि ती सबै भित्र गएर त्यहीं बस्छन्; अनि त्यो मानिसको पछिल्‍लो दशा पहिलोभन्दा झन् खराब हुन्छ।”
27येशूले यी कुराहरू भन्दैगर्नुहुँदा भीडबाट एउटी स्त्रीले कराएर भनी, “ती आमा धन्य हुन्, जसले तपाईंलाई जन्म दिइन् र पालनपोषण गरिन्।”
28तर उहाँले जवाफ दिनुभयो, “बरु तिनीहरू धन्य हुन्, जसले परमेश्‍वरको वचन सुन्छन् र पालन गर्छन्।”
योनाको चिन्ह
29भीडहरू बढ्दैगएपछि येशूले भन्‍नुभयो, “यो एक दुष्‍ट पुस्ता हो; यिनीहरूले अचम्मको चिन्ह खोज्दछन्, तर योनाको चिन्ह#11:29 अगमवक्‍ता योना एउटा ठूलो माछाको पेटमा तीन दिनसम्म रहेका थिए, र जीवितै बाहिर निस्केका थिए। त्यसरी नै येशूले पनि तीन दिनपछि चिहानबाट जीवितै बाहिर आउने अगमवाणी गर्नुभयो। योना 1 बाहेक अरू कुनै चिन्ह दिइनेछैन। 30किनकि जसरी योना निनवेका मानिसहरूका लागि चिन्ह थिए, त्यसरी नै मानिसका पुत्र पनि यस पुस्ताका निम्ति चिन्ह हुनेछन्। 31न्यायको समयमा दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसित खडा भएर तिनीहरूलाई दोषी ठहराउनेछिन्; किनकि तिनी सोलोमनको बुद्धि सुन्‍नलाई पृथ्वीको पल्‍लो छेउदेखि आएकी थिइन्; तर हेर सोलोमनभन्दा महान् एकजना यहाँ छन्। 32न्यायको समयमा निनवेका मानिसहरू यस पुस्तासँग खडा भएर यसलाई दोषी ठहराउनेछन्, किनकि तिनीहरूले योनाको प्रचार सुनेर पश्‍चात्ताप गरेका थिए, तर हेर योनाभन्दा महान् एकजना यहाँ छन्।
शरीरको बत्ती
33“कसैले पनि बत्ती बालेर त्यसलाई लुकिने ठाउँमा अथवा कुनै भाँडोमुनि राख्दैन; तर भित्र आउनेहरूले उज्यालो पाऊन् भनी उसले त्यो सामदानमाथि राख्दछ। 34तिमीहरूको आँखा तिमीहरूको शरीरको बत्ती हो। तिमीहरूका आँखा स्वस्थ्य छन् भने, तिमीहरूको सम्पूर्ण शरीर पनि ज्योतिले पूर्ण हुन्छ; तर यदि आँखा अस्वस्थ्य छन् भने, तिमीहरूको शरीर पनि अन्धकारले पूर्ण हुन्छ। 35त्यसकारण सावधान होऊ, तिमीमा भएको उज्यालो अँध्यारो नहोस्। 36त्यसकारण तिम्रो सम्पूर्ण शरीर उज्यालोले पूर्ण छ, तथा त्यसको कुनै भाग अँध्यारो छैन भने त्यो सम्पूर्ण रूपले उज्यालो हुनेछ, जसरी बत्तीको उज्यालो तिमीहरूमा चम्कन्छ।”
छ किसिमका धिक्‍कार!
37येशूले बोलिसक्नुभएपछि एकजना फरिसीले उहाँलाई आफूसँग भोजनमा निम्तो दिए। उहाँ घरभित्र गएर टेबुलमा खान ढल्कनुभयो। 38तर येशूले खान अघि हात नधुनुभएको देखेर ती फरिसी छक्‍कै परे।
39त्यसपछि प्रभुले तिनलाई भन्‍नुभयो, “तिमी फरिसीहरू कचौरा र थालको बाहिरपट्टि त सफा गर्दछौ; तर तिमीहरूको भित्री भागचाहिँ लोभ र दुष्‍टताले भरिएका हुन्छ। 40मूर्ख मानिसहरूहो! जसले बाहिरको भाग बनाउनुभयो, उहाँले नै भित्रको भाग पनि बनाउनुभएको होइन र? 41तर तिमीहरूभित्र लोभले थुपारेका जे कुराहरू छन्, ती गरिबहरूलाई देओ, र तिमीहरूका निम्ति सबै थोक शुद्ध हुन्छन्।
42“धिक्‍कार! तिमी फरिसीहरूलाई, किनकि तिमीहरूले परमेश्‍वरलाई पुदिना, आरूद र हरेक जडीबुटीको दशांश दिन्छौ, तर न्याय र परमेश्‍वरको प्रेमलाई तिमीहरू बेवास्ता गर्दछौ। तिमीहरूले पहिलो नछोडीकन, यो दोस्रो पनि गर्नुपर्नेथियो।
43“धिक्‍कार! तिमी फरिसीहरूलाई, किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र बजारहरूमा आदरपूर्ण अभिवादन पाउन रुचाउँछौ।
44“धिक्‍कार! तिमीहरूलाई, किनकि तिमीहरू सङ्केत नभएका चिहानहरू जस्ता छौ, जसमाथिबाट मानिसहरू थाहै नपाई हिँड्छन्।”
45व्यवस्थाका विद्वान्‌हरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, यी कुराहरू भनेर तपाईंले हाम्रो पनि बेइज्जत गर्दै हुनुहुन्छ।”
46येशूले जवाफ दिनुभयो, “तिमी व्यवस्थाका विद्वान्‌हरूलाई पनि धिक्‍कार! किनकि तिमीहरूले मानिसहरूलाई तिनीहरूले बोक्नै नसक्ने भारी लदाउँछौ, तर तिमीहरू आफैले भने तिनीहरूलाई सहायता गर्न एउटा औंला पनि उठाउँदैनौ।
47“धिक्‍कार! तिमीहरूलाई, किनकि तिमीहरू अगमवक्‍ताहरूको निम्ति चिहान बनाउँछौ; तर तिनीहरूलाई तिमीहरूकै पुर्खाहरूले मारेका थिए। 48यसरी तिमीहरूले आफ्ना पुर्खाहरूले जे गरेका थिए, त्यसमा तिमीहरूको पनि सहमति छ भन्‍ने साक्षी दिन्छौ, तिनीहरूले अगमवक्‍ताहरूलाई मारे, अनि तिमीहरू उनीहरूका चिहान बनाउँछौ। 49यसैकारण परमेश्‍वरले आफ्नो बुद्धिमा यसो भन्‍नुभयो, ‘म तिनीहरूकहाँ अगमवक्‍ताहरू र प्रेरितहरू पठाउनेछु, उनीहरूमध्ये कसैलाई मार्नेछन् र अरूहरूलाई तिनीहरूले सताउनेछन्।’ 50त्यसकारण संसारको सुरुदेखि यता भएका सबै अगमवक्‍ताका रक्‍तपातको लेखा दिन यो पुस्ता जिम्मेवार रहनेछ, 51हाबिलको रगतदेखि जकरियाको#11:51 पुरानो करारको समयमा पहिलो र अन्तिम अगमवक्‍तालाई मारिएको थियो; उत्प 4:2-15; 2 इति 24:20-22 रगतसम्म, जसको हत्या वेदी र पवित्रस्थानको बीचमा गरिएको थियो। हो, म तिमीहरूलाई भन्दछु, यी सबै कुराको लेखा यो पुस्ताबाट नै लिइनेछ।
52“धिक्‍कार! तिमी व्यवस्थाका विद्वान्‌हरूलाई, किनकि तिमीहरूले ज्ञानमा प्रवेश गर्ने साँचो लगेका छौ। तिमीहरू आफू पनि भित्र पसेनौ, तर भित्र पस्दै गरेकाहरूलाई समेत तिमीहरूले रोक्यौ।”
53येशू त्यहाँबाट जानुभएपछि फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँको घोर विरोध गर्न र उहाँलाई प्रश्नहरू सोध्दै घेराउ गर्न थाले; 54अनि उहाँले भन्‍नुहुने जुनसुकै कुरामा पनि तिनीहरूले उहाँलाई पक्रन दाउ खोज्न थाले।

अहिले सेलेक्ट गरिएको:

लूका 11: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्