लूका 4
4
येशूको परीक्षा
1येशू पवित्र आत्माको भरपूरीमा यर्दनबाट फर्कनुभयो र आत्माद्वारा उहाँ उजाडस्थानमा लगिनुभयो, 2अनि उहाँ त्यस ठाउँमा चालीस दिनसम्म शैतानबाट परीक्षित हुनुभयो। त्यति दिनसम्म उहाँले केही खानुभएन, र अन्त्यमा उहाँ भोकाउनुभयो।
3तब शैतानले उहाँलाई भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई रोटी बनोस् भन्नुहोस्।”
4येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन।’ ”#4:4 व्यव 8:3
5शैतानले उहाँलाई एउटा उच्च स्थानमा लग्यो र एकै क्षणमा संसारका सबै राज्यहरू देखायो। 6अनि त्यसले उहाँलाई भन्यो, “यी राज्यका सबै अधिकार र गौरव म तपाईंलाई दिनेछु, किनकि यी सबै थोक मलाई दिइएका छन्, र म जसलाई चाहन्छु त्यसलाई यो दिन सक्छु। 7यदि तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।”
8येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा लेखिएको छ: ‘तैंले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’ ”#4:8 व्यव 6:13
9तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राख्यो र भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने, यहाँबाट हाम फाल्नुहोस्। 10किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ:
“ ‘उहाँले तपाईंको सम्बन्धमा होसियारीसाथ सुरक्षा गर्न
आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,
11अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातमा उचाल्नेछन्,
ताकि तपाईंको खुट्टा कुनै ढुङ्गामाथि नबजारियोस्।’ ”#4:11 भजन 91:11, 12
12येशूले जवाफ दिनुभयो, “यसो लेखिएको छ: ‘तैंले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’ ”#4:12 व्यव 6:16
13शैतानले उहाँको परीक्षा गर्ने यी सबै काम सकेपछि, अनुकूल समय नभएसम्म उहाँलाई छोडेर गयो।
नासरतमा येशूलाई इन्कार
14येशू आत्माको शक्तिमा गालील प्रदेशमा फर्कनुभयो र उहाँको बारेमा सारा मुलुकभरि खबर फैलियो। 15उहाँले तिनीहरूका सभाघरहरूमा शिक्षा दिनुभयो र सबैले उहाँको प्रशंसा गरे।
16उहाँ नासरतमा जानुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो, अनि विश्रामदिनमा#4:16 यो हप्ताको सातौं दिन यहूदीहरूले परमेश्वरको आराधना गर्न अलग गरिएको दिन थियो। यस दिन यहूदीहरू कुनै पनि शारीरिक काम गर्दैनन्। उहाँ आफ्नो रीतिअनुसार सभाघरमा जानुभयो र उहाँ पढ्नलाई उभिनुभयो। 17यशैया अगमवक्ताको पुस्तक उहाँलाई पढ्न दिइयो। त्यो पुस्तक खोलेर उहाँले यसो लेखिएको खण्ड निकाल्नुभयो:
18“प्रभुको आत्मा ममाथि छ,
किनकि गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति
उहाँले मलाई अभिषेक गर्नुभएको छ।
उहाँले मलाई कैदीहरूलाई छुटकाराको घोषणा गर्न,
र दृष्टिविहीनहरूलाई दृष्टि दिलाउन,
उत्पीडनमा परेकाहरूलाई स्वतन्त्र गराउन,
19अनि प्रभुको निगाहको वर्ष घोषणा गर्न पठाउनुभएको छ।”#4:19 यशै 58:6; 61:1, 2
20त्यसपछि पुस्तक बन्द गरेर उहाँले त्यो सेवकलाई दिनुभयो र बस्नुभयो। सभाघरमा भएका सबैका नजर उहाँमाथि थियो। 21अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “आज तिमीहरूको सुनाइमा यो धर्मशास्त्र पूरा भएको छ।”
22सबैले उहाँको प्रशंसा गरे, र उहाँको मुखबाट आएको अनुग्रहपूर्ण वचनमा छक्क परे; अनि तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?”
23येशूले तिनीहरूलाई भन्नुभयो, “पक्कै तिमीहरूले मलाई यो दृष्टान्त भन्नेछौ: ‘ए वैद्य, आफैलाई निको पार! कफर्नहुममा तिमीले जे-जति गर्यौ भनी हामीले सुनेका थियौं, ती सबै यहाँ आफ्नै शहरमा पनि गर।’ ”
24उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, कुनै पनि अगमवक्तालाई उसको आफ्नै शहरमा स्वीकार गरिँदैन। 25म तिमीहरूलाई साँचो भन्दछु, एलियाको समयमा जब आकाश साढे तीन वर्षसम्म थुनियो र सारा देशभरि भयङ्ककर अनिकाल पर्यो, त्यस बेला इस्राएलमा धेरै विधवाहरू थिए। 26तापनि एलिया अरू कसैकहाँ होइन, तर सीदोनको क्षेत्रमा पर्ने सारपतकी#4:26 1 राजा 17:8 एउटी विधवाकहाँ मात्र पठाइए। 27अनि एलीशा अगमवक्ताका समयमा पनि इस्राएलमा धेरै कुष्ठरोगीहरू थिए, तर तिनीहरू कोही पनि निको पारिएनन् केवल सिरियाली#4:27 2 राजा 5 नामान मात्र निको पारिए।”
28यो सुनेपछि सभाघरमा भएका सबै मानिसहरू रिसले#4:28 किनभने यहूदीहरूबाहेक अरू कसैले पनि परमेश्वरको आशिष पाउनुहुन्न भन्ने यहूदीहरूको विश्वास थियो, तर सिरियाली नामान र सारपतकी विधवा दुवैजना यहूदी थिएनन्। चूर भए। 29तिनीहरू खडा भए, र उहाँलाई शहरदेखि बाहिर, जुन पहाडमा तिनीहरूका शहर बनाइएको थियो, त्यसैको भीरबाट खसालिदिन टाकुरामा लगे। 30तर उहाँ भीडबाट नै छिरेर आफ्नै बाटो जानुभयो।
येशूले अशुद्ध आत्मा निकाल्नुभएको
31त्यसपछि येशू गालील प्रदेशको एउटा शहर कफर्नहुममा जानुभयो, र विश्रामदिनमा मानिसहरूलाई शिक्षा दिन थाल्नुभयो। 32उहाँका शिक्षामा तिनीहरू छक्क परे; किनकि उहाँको सन्देश अधिकारपूर्ण थियो।
33सभाघरमा अशुद्ध भूत आत्मा लागेको एउटा मानिस थियो। त्यसले आफ्नो चर्को सोरमा कराएर भन्यो, 34“तपाईं गइहाल्नुहोस्! हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु, तपाईं परमेश्वरको पवित्र जन हुनुहुन्छ!”
35येशूले त्यसलाई हकारेर भन्नुभयो, “चूप लाग्, र त्यसबाट निस्की जा!” त्यसपछि भूत आत्माले त्यस मानिसलाई तिनीहरूका बीचमा पछार्यो, र त्यसलाई केही पनि हानि नगरीकन निस्केर गयो।
36सबै मानिसहरू छक्क परे, र एक-अर्कालाई भने, “यी कस्ता वचन हुन्? यिनले अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्छन्, अनि तिनीहरू निस्केर जान्छन्!” 37अनि उहाँको विषयमा यो खबर वरिपरिका इलाकाभरि फैलियो।
येशूले धेरैलाई निको पार्नुभएको
38त्यस दिन येशू सभाघरबाट निस्केर सिमोनको घरमा जानुभयो। सिमोनकी सासू कडा ज्वरोले थलिएकी थिइन्, अनि तिनीहरूले येशूलाई तिनलाई सहायता गर्न विन्ती गरे। 39अनि उहाँ तिनको नजिकै उभिएर ज्वरोलाई हप्काउनुभयो; र ज्वरोले तिनलाई छोड्यो। तिनी तुरुन्तै उठिन्, र उहाँहरूको सेवा गरिन्।
40घाम अस्ताउन लाग्दा, मानिसहरूले विभिन्न किसिमका रोग लागेका मानिसहरूलाई येशूकहाँ ल्याए, अनि तिनीहरू हरेकमाथि हात राख्नुभयो र उहाँले सबैलाई निको पार्नुभयो। 41अझ धेरै मानिसहरूबाट भूतहरू पनि यसो भनी चिच्याउँदै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ!” तर उहाँले तिनीहरूलाई हप्काउनुभयो र बोल्न दिनुभएन, किनकि उहाँ ख्रीष्ट हुनुहुन्छ भनी तिनीहरूले जान्दथे।
42बिहान उज्यालो हुँदा येशू निस्केर एउटा एकान्त ठाउँमा जानुभयो। मानिसहरूले उहाँलाई खोजिरहेका थिए, अनि उहाँ हुनुभएको ठाउँमा आएपछि, तिनीहरूले उहाँलाई तिनीहरूलाई छोडेर जान नदिन प्रयास गरे। 43तर उहाँले भन्नुभयो, “मैले परमेश्वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” 44अनि उहाँले यहूदिया प्रदेशका सभाघरहरूमा प्रचार गरिरहनुभयो।
अहिले सेलेक्ट गरिएको:
लूका 4: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.