मत्ती 20
20
दाखबारीका खेतालाहरूको दृष्टान्त
1“किनकि स्वर्गको राज्य एकजना जमिनको मालिकजस्तै हो, जो आफ्ना दाखबारीको लागि खेतालाहरू खोज्न बिहानै निस्के। 2तिनीहरूलाई दिनको एक दिनार#20:2 एक दिनार बराबर एक दिनको ज्याला ज्याला दिन राजी भए, अनि तिनीहरूलाई दाखबारीमा काम गर्न पठाइदिए।
3“करीब बिहान नौ बजेतिर तिनी बाहिर गए, अनि बजारमा कतिलाई केही नगरी उभिरहेका देखे। 4तिनले तिनीहरूलाई भने ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर, अनि जे उचित छ म तिमीहरूलाई दिनेछु।’ 5अनि तिनीहरू गए।
“तिनी फेरि दिउँसो बाह्र बजेतिर अनि करीब दिउँसोको तीन बजेतिर बाहिर गए, अनि त्यसै गरे। 6अनि बेलुकाको पाँच बजेतिर तिनी बाहिर गए, र अझ अरूलाई त्यसै उभिरहेका देखे। तिनले तिनीहरूलाई सोधे, ‘तिमीहरू केही नगरी यहाँ दिनभरि किन उभिरहेका छौ?’
7“तिनीहरूले जवाफ दिए, ‘हामीलाई कसैले काममा लगाएनन्।’
“तिनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर।’
8“जब साँझ पर्यो, दाखबारीको मालिकले आफ्नो कर्मचारीलाई भने, ‘खेतालाहरूलाई बोलाऊ अनि अन्तिममा काममा खटाइएकाहरूदेखि लिएर सुरुमा आएकाहरूसम्मलाई तिनीहरूका ज्याला देऊ।’
9“बेलुका पाँच बजेतिर काममा लगाइएका खेतालाहरू आए अनि हरेकले एक-एक दिनार पाए। 10तसर्थ जब ती पहिला काममा लगाइएकाहरू आए तिनीहरूले बढी पाउने आशा राखेका थिए; तर तिनीहरू हरेकले पनि एक दिनार पाए। 11तिनीहरूले त्यो पाएपछि तिनीहरू जमिनको मालिकसित गनगनाउन थाले। 12तिनीहरूले भने, ‘यी आखिरमा काममा लगाइएका मानिसहरूले एक घण्टा मात्र काम गरेका छन्, अनि तपाईंले तिनीहरूलाई हामी समान तुल्याउनुभयो, जसले कामको बोझ उठायौं अनि दिनको गर्मी सह्यौं।’
13“तर तिनले तिनीहरूमध्ये एकजनालाई जवाफ दिए, ‘मित्र, मैले तिमीमाथि केही अन्याय गरेको छैनँ। के तिमी दिनको एक दिनारको हिसाबले काम गर्न राजी भएका थिएनौ? 14तिम्रो ज्याला लिएर जाऊ। म आखिरमा काममा खटाइएको मानिसलाई तिमीलाई दिएको जति नै दिन चाहन्छु। 15के मेरो आफ्नै पैसालाई म जे गर्न चाहन्छु, त्यो गर्ने अधिकार मलाई छैन? अथवा के म दयालु भएकोमा तिमी ईर्ष्या गर्छौ?’
16“यसकारण पछिल्ला हुनेहरू पहिला हुनेछन् र पहिला हुनेहरू पछिल्ला हुनेछन्।”
आफ्नो मृत्युबारे येशूको तेस्रो भविष्यवाणी
17जब येशू यरूशलेमतिर जाँदैहुनुहुन्थ्यो, उहाँले साथमा बाह्र जनालाई एकातिर लैजानुभयो र तिनीहरूलाई भन्नुभयो, 18“हामी यरूशलेमतर्फ जाँदैछौं, अनि मानिसका पुत्रलाई मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूका हातमा सुम्पिइनेछन्। तिनीहरूले उसलाई मृत्युको दोषी ठहराउनेछन्, 19अनि उनलाई गैरयहूदीहरूको हातमा गिल्ला गर्न, कोर्रा लगाउन र क्रूसमा चढाउनको लागि दिनेछन्; अनि तेस्रो दिनमा ऊ जीवित भई उठ्नेछ!”
एउटी आमाको विन्ती
20तब जब्दीका छोराहरूकी आमा आफ्ना छोराहरूको साथमा येशूकहाँ आइन्, अनि घुँडा टेकेर उहाँसँग एउटा विन्ती गरिन्।
21उहाँले सोध्नुभयो, “तिमी के चाहन्छ्यौ?”
उनले भनिन्, “मेरा यी छोराहरूमध्ये एकजना तपाईंको राज्यमा तपाईंको दाहिनेतिर अनि अर्कोचाहिँ देब्रेतिर बस्न पाउने मञ्जुरी दिनुहोस्।”
22येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले के मागिरहेका छौ, त्यो जान्दैनौ। के मैले पिउन लागेको कष्टको कचौरा तिमीहरू पिउन सक्छौ?”
तिनीहरूले जवाफ दिए, “हामी सक्छौं।”
23येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले अवश्य मेरो कचौरादेखि पिउनेछौ, तर तिमीहरू मेरा दाहिने र देब्रेपट्टि बस्न पाउने कुराचाहिँ म मञ्जूर गर्न सक्दिनँ। यी ठाउँहरू त मेरा पिताले तयार गर्नुभएकाहरूका लागि हुन्।”
24जब ती दशजनाले यस विषयमा सुने, तिनीहरू ती दुई भाइहरूसित रिसाए। 25येशूले तिनीहरूलाई एकसाथ बोलाएर भन्नुभयो, “गैरयहूदीहरूका शासकहरूले तिनीहरूमाथि शासन गर्दछन्, अनि तिनीहरूका उच्च अधिकारीहरूले तिनीहरूमाथि अधिकार चलाउँछन् भनी तिमीहरू जान्दछौ। 26तिमीहरूमा चाहिँ यस्तो हुनुहुँदैन। बरु तिमीहरूमध्ये जो ठूलो हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनुपर्छ, 27अनि तिमीहरूमध्ये जो श्रेष्ठ हुन चाहन्छ, त्यो तिमीहरूको सेवक हुनैपर्छ। 28यसरी नै मानिसका पुत्र सेवा पाउनलाई होइन, तर सेवा गर्न, अनि धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आएका हुन्।”
दुई दृष्टिविहीनहरूले दृष्टि पाएका
29येशू र उहाँका चेलाहरूले जब यरिहो छोड्दैहुनुहुन्थ्यो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। 30दुईजना दृष्टिविहीन मानिसहरू बाटोको छेउमा बसिरहेका थिए, अनि जब तिनीहरूले येशू त्यहाँबाट जाँदैहुनुहुन्छ भन्ने सुने, तिनीहरू यसो भनी कराए, “हे प्रभु, दाविदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”
31भीडले तिनीहरूलाई चूप लागून् भनेर हकारे, तर तिनीहरू झन् चर्को सोरमा कराए, “हे प्रभु, दाविदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”
32येशू रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो, “म तिमीहरूको निम्ति के गरूँ भनी तिमीहरू चाहन्छौ?”
33तिनीहरूले जवाफ दिए, “हे प्रभु, हामीले आफ्नो दृष्टि पाऔं।”
34येशू तिनीहरूप्रति दयाले भरिनुभयो अनि तिनीहरूका आँखा छोइदिनुभयो। तुरुन्तै तिनीहरूले आफ्नो दृष्टि पाए, अनि उहाँलाई पछ्याए।
अहिले सेलेक्ट गरिएको:
मत्ती 20: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.