मत्ती 21
21
यरूशलेममा येशूको विजय प्रवेश
1उहाँहरू जब यरूशलेमको नजिक जैतुन डाँडामा भएको बेथफागेमा आइपुग्नुभयो, येशूले दुईजना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, 2“तिमीहरूका सामुन्ने भएको गाउँमा जाओ, अनि त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधालाई त्यसको बछेडाको छेउमा बाँधिएको भेट्टाउनेछौ। तिनीहरूलाई फुकाएर मकहाँ ल्याओ। 3यदि कसैले तिमीहरूलाई केही भन्यो भने, तिनीहरूलाई भन्नू कि, प्रभुलाई यिनीहरूको खाँचो छ, अनि तिनले तिनीहरूलाई तुरुन्तै पठाइदिनेछन्।”
4यो अगमवक्ताद्वारा बोलिएको वचन पूरा हुनालाई भएको थियो:
5“यरूशलेमका मानिसहरूलाई#21:5 यरूशलेमका मानिसहरूलाई मूल भाषामा सियोनकी छोरी भन,
‘हेर, तिम्रो राजा तिमीकहाँ आउँदै हुनुहुन्छ,
नम्र अनि गधामाथि सवार हुनुभएर,
बछेडामाथि, गधाको बछेडामाथि।’ ”#21:5 जक 9:9
6ती चेलाहरू गए अनि येशूले तिनीहरूलाई अह्राउनुभएजस्तै गरे। 7तिनीहरूले त्यस गधा र बछेडोलाई ल्याए, तीमाथि तिनीहरूका लुगाहरू ओछ्याए, अनि येशू त्यसमाथि बस्नुभयो। 8एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए, अनि अरूले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए। 9उहाँको अघिजाने भीडहरूले र ती पछ्याउनेहरूले चर्को सोरमा यसो भनेर कराए,
“दाविदका पुत्रलाई होसन्ना!”#21:9 हामीलाई बचाउनुहोस्
“उहाँ जो प्रभुको नाउँमा आउनुहुन्छ धन्य हुनुहुन्छ!”
“परमधाममा होसन्ना।”
10जब येशू यरूशलेममा प्रवेश गर्नुभयो, सम्पूर्ण शहरमा हलचल मच्चियो अनि तिनीहरूले सोधे, “यिनी को हुन्?”
11त्यस भीडले जवाफ दियो, “यिनी गालीलको नासरतबाट आएका अगमवक्ता येशू हुन्।”
येशू मन्दिरमा
12येशू मन्दिरको इलाकामा प्रवेश गर्नुभयो अनि त्यहाँ किनबेच गर्नेहरू सबैलाई धपाइदिनुभयो। उहाँले पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्नेहरूका बेन्चहरू पल्टाइदिनुभयो। 13अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई ‘डाँकूहरूको एउटा ओडार बनाइरहेका छौ।’ ”#21:13 यर्मिया 7:11
14दृष्टिविहीन अनि हिँड्न नसक्नेहरू उहाँकहाँ मन्दिरमा आए, अनि उहाँले तिनीहरूलाई निको पार्नुभयो। 15तर जब मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँले गर्नुभएका अद्भुत कामहरू देखे, अनि मन्दिरको इलाकामा बालबालिकाहरूले “दाविदका पुत्रलाई होसन्ना” भनेका सुने, तिनीहरू रिसाए।
16तिनीहरूले उहाँलाई सोधे, “यी बालबालिकाहरूले के भन्दैछन्, तिमी सुन्दैछौ?”#21:16 भजन 8:2
येशूले जवाफ दिनुभयो, “हो, सुन्दैछु। के तिमीहरूले कहिल्यै धर्मशास्त्र पढेका छैनौ:
“ ‘केटाकेटीहरू अनि शिशुहरूका ओठबाट
प्रभु, तपाईंले प्रशंसा निकाल्नुभएको छ’?”
17अनि उहाँ तिनीहरूलाई छोडेर शहरबाहिर बेथानीमा जानुभयो, जहाँ उहाँले रात बिताउनुभयो।
नेभाराको रूख सुकेको
18एकाबिहानै, उहाँ जब शहरतिर फर्कँदै हुनुहुन्थ्यो, उहाँ भोकाउनुभयो। 19बाटोको किनारमा एउटा अञ्जीरको रूख देखेर उहाँ त्यहाँ आउनुभयो, अनि त्यसमा पातहरूबाहेक केही पाउनुभएन। तब उहाँले त्यसलाई भन्नुभयो, “अब उप्रान्त तँमा फल नफलोस्!” अनि त्यो रूख तुरुन्तै ओइलायो।
20जब चेलाहरूले यो देखे, तिनीहरू छक्क परेर सोधे, “यो अञ्जीरको रूख कसरी यति चाँडो ओइलाइहाल्यो?”
21येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यदि तिमीहरूमा विश्वास छ र शङ्का गरेनौ भने यस अञ्जीरको रूखलाई जे गरिएको थियो, तिमीहरूले त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई ‘जा, गएर आफूलाई समुद्रमा फ्याँक’ भन्यौ भने, त्यो भइहाल्नेछ। 22तिमीहरूले विश्वास गर्यौ भने, तिमीहरूले प्रार्थनामा जे मागे पनि पाउनेछौ।”
येशूको अधिकारको बारेमा प्रश्न
23येशू मन्दिरका चोकहरूमा आउनुभयो, अनि, उहाँले शिक्षा दिँदैगर्दा मुख्य पूजाहारीहरू अनि जनताका प्रधानहरू उहाँकहाँ आए। तिनीहरूले सोधे, “तिमीले कुन अधिकारले यी कुराहरू गरिरहेका छौ? अनि तिमीलाई यो अधिकार कसले दियो?”
24येशूले जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु। यदि तिमीहरूले जवाफ दियौ भने, म तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्दैछु भनी भन्नेछु। 25यूहन्नाको बप्तिस्मा कहाँबाट आएको हो? स्वर्गबाट हो कि मानिसहरूबाट?”
तिनीहरूले आपसमा छलफल गरे अनि भने, “यदि हामीले ‘स्वर्गबाट,’ भन्यौं भने उनले ‘त्यसो भए तिमीहरूले किन तिनलाई विश्वास गरेनौ’ भनी भन्नेछन्। 26तर यदि हामीले ‘मानिसबाट’ हो भन्यौं भने हामीलाई मानिसहरूको डर लाग्छ, किनकि तिनीहरू सबैले यूहन्नालाई अगमवक्ता भनी मान्छन्।”
27त्यसकारण तिनीहरूले येशूलाई जवाफ दिए, “हामी जान्दैनौं।”
तब उहाँले भन्नुभयो, “म पनि कुन अधिकारले यी कामहरू गर्दैछु त्यो भन्दिनँ।
दुई छोराहरूको दृष्टान्त
28“तिमीहरू के सोच्छौ? एकजना मानिसका दुई छोराहरू थिए। तिनी पहिलोकहाँ गए अनि भने, ‘छोरा, आज गएर दाखबारीमा काम गरिदे।’
29“त्यसले जवाफ दियो, ‘म जान्नँ,’ तर पछिबाट त्यसले आफ्नो मन बदली गर्यो अनि गयो।
30“तब ती बुबा अर्को छोराकहाँ गए अनि त्यही कुरा भने। त्यसले जवाफ दियो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन।
31“ती दुईमध्ये कसले बुबाले इच्छा गरेको कुरा गरे?”
तिनीहरूले भने, “पहिलोले।”
येशूले तिनीहरूलाई भन्नुभयो, “म साँच्चै तिमीहरूलाई भन्दछु, कर उठाउनेहरू र वेश्याहरू परमेश्वरको राज्यमा तिमीहरूभन्दा पहिले प्रवेश गर्दैछन्। 32किनकि यूहन्ना तिमीहरूकहाँ धार्मिकताको बाटो देखाउन आए, अनि तिमीहरूले उनलाई विश्वास गरेनौ, तर कर उठाउनेहरू र वेश्याहरूले त गरे। अनि तिमीहरूले यो देखेर पनि पश्चात्ताप गरेर विश्वास गरेनौ।
मोहीहरूको दृष्टान्त
33“अर्को दृष्टान्त सुन: एकजना जमिनको मालिक थिए, जसले एउटा दाखबारी लगाए। तिनले त्यसको चारैतिर पर्खाल बनाएर दाख पेल्ने एउटा कोल खने, अनि एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्कामा दिएर यात्रामा गए। 34जब कटनीको समय आयो, तिनले फल जम्मा गर्न भनी आफ्ना सेवकहरूलाई ती मोहीहरूकहाँ पठाए।
35“तब ती मोहीहरूले सेवकहरूलाई पक्रे: अनि एउटालाई पिटे, अर्कोलाई मारे अनि तेस्रोलाई ढुङ्गाले हाने। 36अनि तिनले अरू सेवकहरूलाई तिनीहरूकहाँ पहिलेभन्दा बढी संख्यामा पठाए, तब ती मोहीहरूले तिनीहरूसित पनि त्यस्तै व्यवहार गरे। 37अन्त्यमा तिनले आफ्नै छोरालाई तिनीहरूकहाँ पठाए। तिनले भने, ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन्।’
38“तर ती मोहीहरूले जब छोरालाई आउँदै गरेको देखे, तिनीहरूले आपसमा भने, ‘यो ता उत्तराधिकारी हो; आओ, यसलाई मारौं अनि उसको उत्तराधिकार हात पारौं।’ 39यसरी तिनीहरूले त्यसलाई दाखबारीको बाहिर निकालेर मारे।
40“यसकारण जब दाखबारीका मालिक आउँछन्, तब तिनले ती मोहीहरूलाई के गर्लान्?”
41तिनीहरूले जवाफ दिए, “तिनले ती दुष्टहरूलाई दूर्दशापूर्वक अन्त्य गरिदिनेछन्, अनि त्यो दाखबारी अरू मोहीहरूलाई दिनेछन्, जसले कटनीको समयमा तिनलाई तिनको भागको अन्न दिनेछन्।”
42येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ:
“ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द तुल्याए
त्यही कुनाको मुख्य ढुङ्गो बन्यो;
प्रभुले नै यो गर्नुभएको हो,
अनि यो हाम्रा दृष्टिमा अचम्मको छ’?#21:42 भजन 118:22, 23
43“यसकारण म तिमीहरूलाई भन्दछु, कि परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ अनि यस्तो जातिलाई दिइनेछ, जसले यसबाट फल फलाउनेछ। 44जो यस ढुङ्गामाथि खस्छ, त्यो टुक्रा-टुक्रा हुनेछ, तर जसमाथि यो खस्छ, त्यो धूलोपीठो हुनेछ।”
45जब मुख्य पूजाहारीहरू र फरिसीहरूले येशूको यो दृष्टान्त सुने, तिनीहरूले उहाँले त तिनीहरूकै विषयमा भन्दैहुनुहुन्छ भनी जाने। 46तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले, तर तिनीहरू भीडसित डराउँथे; किनकि तिनीहरूले उहाँलाई अगमवक्ता भनी मान्थे।
अहिले सेलेक्ट गरिएको:
मत्ती 21: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.