YouVersion लोगो
खोज आइकन

मर्कूस 5

5
येशूले भूत आत्मा लागेको मानिसलाई निको पार्नुभएको
1उहाँहरू तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा जानुभयो। 2जब येशू डुङ्गाबाट बाहिर निस्कनुभयो, त्यहाँ अशुद्ध आत्मा लागेको एकजना मान्छे चिहानबाट उहाँलाई भेट्न आयो। 3यो मानिस चिहानहरूमा बस्थ्यो; अनि कसैले पनि त्यसलाई बाँध्न सक्दैनथियो, साङ्लोले समेत सक्दैनथियो। 4किनकि धेरैपल्ट त्यो हातखुट्टामा साङ्लोले बाँधिएको थियो; तर त्यसले साङ्लाहरू चुडाउँथ्यो अनि खुट्टाका फलामहरू भाँच्थ्यो। त्यसलाई अधीनमा राख्नसक्ने बल कसैसँग थिएन। 5दिनरात चिहानहरूमा र पहाडहरूमा रहन्थ्यो, र चिच्याउँथ्यो अनि आफैलाई ढुङ्गाले काट्ने गर्दथ्यो।
6जब त्यसले टाढैबाट येशूलाई देख्यो, त्यो दगुरेर उहाँको सामुन्‍ने गई उहाँको पाउमा पर्‍यो। 7त्यसले चर्को सोरले कराएर भन्यो, “हे सर्वोच्‍च परमेश्‍वरका पुत्र, येशू, तपाईं मसित के चाहनुहुन्छ? परमेश्‍वरको नाउँको निम्ति मलाई नसताउनुहोस्!” 8किनकि येशूले त्यसलाई भन्‍नुभएको थियो, “हे अशुद्ध आत्मा, तँ यस मानिसबाट बाहिर निस्की!”
9तब येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?”
त्यसले जवाफ दियो, “मेरो नाउँ फौज हो; किनकि हामी धेरै छौं।” 10अनि त्यसले येशूलाई त्यस इलाकादेखि तिनीहरूलाई बाहिर नपठाऊन् भनी बारम्बार विन्ती गर्‍यो।
11त्यहाँ नजिकै, पहाडमा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो। 12ती भूत आत्माहरूले येशूलाई यसरी विन्ती गरे, “हामीलाई ती सुँगुरहरूमा पठाउनुहोस्; तिनीहरूभित्र पस्‍न दिनुहोस्।” 13उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अनि अशुद्ध आत्माहरू निस्केर सुँगुरहरूभित्र पसे। दुई हजार जतिको त्यो बगाल, त्यस भिरालो किनारबाट हुर्रिदै गएर तालमा खस्यो, अनि डुबेर मरे।
14ती सुँगुर चराउनेहरू भागेर शहर र गाउँतिर गएर त्यो खबर सुनाइदिए, अनि मानिसहरू के भएको थियो, सो हेर्न गए। 15जब तिनीहरू येशूकहाँ आए, तिनीहरूले दुष्‍ट आत्माको फौजले भरिएको त्यस मानिसलाई लुगा लगाएर सद्दे दिमागको भई त्यहाँ बसिरहेको देखे; अनि तिनीहरू डराए। 16जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्‍ट आत्मा लागेको मानिसलाई के भएको थियो, अनि सुँगुरहरूको विषयमा पनि मानिसहरूलाई भनिदिए। 17तब मानिसहरूले येशूलाई त्यस क्षेत्रबाट गइहाल्न विन्ती गरे।
18येशू जब डुङ्गामा चढ्नुहुँदैथियो, त्यो दुष्‍ट आत्माले सताएको मानिस आएर उहाँसँगै जानपाऊँ भनी विन्ती गर्‍यो। 19येशूले मान्‍नुभएन, तर भन्‍नुभयो, “घरमा जाऊ, अनि आफ्नो परिवारलाई तिम्रो लागि प्रभुले कति ठूलो काम गर्नुभएको छ र उहाँले तिमीप्रति कति कृपा देखाउनुभयो, त्यो सबैलाई भनिदेऊ।” 20यसकारण त्यो मानिस गइहाल्यो, अनि येशूले उसको लागि के गर्नुभयो त्यो डेकापोलिसमा#5:20 अर्थात् दश शहरहरू भन्‍न थाल्यो; अनि सबै मानिसहरू छक्‍क परे।
येशूद्वारा मरेकी केटी पुनः जीवित पारिएकी र रोगी स्त्री निको पारिएकी
21फेरि येशू डुङ्गामा चढी तालपारि जानुभएपछि, उहाँ तालको किनारमा हुँदा एउटा ठूलो भीड उहाँको चारैतिर भेला भयो। 22तब सभाघरका शासकहरूमध्ये याइरस नाउँ भएको एकजना त्यहाँ आए। येशूलाई देखेर तिनी उहाँको पाउमा घोप्टो परे, 23अनि उहाँलाई विनम्र अनुरोध गरे, “मेरी सानी छोरी मर्नै लागेकी छ। दया गरी आएर त्यसमाथि तपाईंका हात राखिदिनुहोस्, अनि त्यो निको होस्; र त्यो बाँचोस्।” 24तब येशू तिनीसित जानुभयो।
एउटा ठूलो भीडले उहाँलाई पछ्यायो, अनि उहाँको चारैतिर ठेलमठेला भयो। 25अनि त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिई। 26त्यसले धेरै चिकित्सकहरूबाट धेरै कष्‍ट भोगेकी अनि आफूसित भएको सबै खर्च गरिसकेकी थिई, र पनि लाभ हुनुको साटो अझ खराब अवस्थामा पुगेकी थिई। 27जब त्यसले येशूको विषयमा सुनी, त्यो त्यस भीडमा उहाँको पछिल्तिर आएर उहाँको वस्त्र छोई, 28किनकि त्यसले सोचेकी थिई, “यदि मैले उहाँको वस्त्रमात्र छोएँ भने पनि म निको हुनेछु।” 29तुरुन्तै त्यसको रगत बग्न बन्द भयो, र आफ्नो शरीरको रोग निको भएको त्यसले थाहा पाई।
30येशूलाई आफ्नो शरीरबाट शक्‍ति बाहिर निस्केको तुरुन्तै थाहा भयो। उहाँले भीडमा पछि फर्केर सोध्नुभयो, “कसले मेरो वस्त्र छोयो?”
31उहाँका चेलाहरूले जवाफ दिए, “मानिसहरूको भीडले तपाईंलाई घचेटिरहेको देख्दैहुनुहुन्छ, र पनि तपाईं कसरी सोध्न सक्नुहुन्छ, ‘कसले मलाई छोयो?’ ”
32तर येशूले उहाँलाई कसले छोयो भनी चारैतिर हेरिरहनुभयो। 33तब आफूमा के भएको थियो, सो जानेर त्यो स्त्री आई, र उहाँको पाउमा घोप्टो परी, अनि डरले काँप्दै उहाँलाई सबै साँचो कुरा बताई। 34उहाँले त्यसलाई भन्‍नुभयो, “छोरी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। शान्तिसित जाऊ, तिमी आफ्नो कष्‍टबाट मुक्‍त भयौ।”
35येशू बोलिरहनुभएकै बेला केही मानिसहरू सभाघरका शासक याइरसको घरबाट आएर भने, “तपाईंकी छोरीको मृत्यु भयो। अब गुरुज्यूलाई किन अरू दुःख दिनुहुन्छ?”
36उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्‍नुभयो, “नडराऊ, विश्‍वास मात्र गर।”
37उहाँले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नाबाहेक अरूलाई आउन दिनुभएन। 38जब उहाँहरू सभाघरका शासकको घरमा आइपुग्नुभयो; येशूले मानिसहरू रुँदै कराउँदै खैलाबैला गरेको देख्नुभयो। 39उहाँले भित्र पसेर तिनीहरूलाई भन्‍नुभयो, “किन यस्तो रुवाइ र खैलाबैला गर्छौ? केटी मरेकी छैन, तर सुतेकी छे।” 40तर तिनीहरूले उहाँको उपहास गरेर हाँसे।
उहाँले तिनीहरू सबैलाई बाहिर निकाल्नुभएपछि, बालिकाका बुबा, आमा र आफूसित भएका चेलाहरूलाई लिएर बालिका भएको ठाउँमा जानुभयो। 41उहाँले त्यसको हातमा समात्नुभयो र त्यसलाई भन्‍नुभयो, “तालिता कौम!” (जसको अर्थ हो, “हे सानी केटी, म तिमीलाई भन्दछु, उठ!”)। 42त्यो केटी तुरुन्तै ठिङ्ग उभिई र यताउता हिँडी (ऊ बाह्र वर्षकी थिई)। यसमा तिनीहरूले अति अचम्म माने। 43उहाँले तिनीहरूलाई यसबारे कसैलाई नभन्‍नू भनी कडा आज्ञा दिएर त्यस केटीलाई केही खानेकुरा दिनू भन्‍नुभयो।

अहिले सेलेक्ट गरिएको:

मर्कूस 5: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्