प्रकाश 13
13
समुद्रबाट आएको पशु
1तब मैले एउटा पशुलाई समुद्रबाट निस्कँदैगरेको देखेँ। त्यसका दश वटा सिङहरू र सात वटा शिरहरू थिए, र त्यसका सिङहरूमा दश वटा मुकुटहरू थिए; अनि प्रत्येक शिरमाथि एउटा ईश्वरनिन्दाको नाम लेखिएको थियो। 2मैले देखेको पशु चितुवाजस्तै थियो, तर त्यसका खुट्टाहरू भालुका जस्ता र मुखचाहिँ सिंहको जस्तो थियो। त्यस अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अख्तियार त्यस पशुलाई दियो। 3त्यस पशुका शिरहरूमध्ये एउटामा प्राणघातक चोट लागेको जस्तो थियो; तर त्यो घातक चोट निको भएको थियो। सारा पृथ्वी छक्क पर्यो र त्यस पशुको पछि लाग्यो। 4मानिसहरूले त्यस अजिङ्गरको आराधना गरे; किनकि त्यसले नै त्यस पशुलाई अधिकार दिएको थियो, र तिनीहरूले त्यस पशुलाई पनि आराधना गरेर यसो भनी सोधे, “यो पशुजस्तो को छ र? यससित लडाइँ गर्न कसले सक्छ र?”
5त्यस पशुलाई अहङ्कारका शब्दहरू र ईश्वरनिन्दाहरू बोल्नलाई एउटा मुख र बयालीस महिनासम्म आफ्नो शक्ति चलाउने अख्तियार दिइयो। 6परमेश्वरको विरुद्धमा निन्दा गर्न, उहाँको नाम, उहाँको वासस्थान र स्वर्गमा बस्नेहरूसमेत सबैको निन्दा गर्न त्यसले आफ्नो मुख खोल्यो। 7त्यसलाई सबै सन्तहरूसित लडाइँ गर्ने र तिनीहरूलाई जित्ने शक्ति दिइयो। त्यसलाई प्रत्येक कुल, जाति, भाषा र राष्ट्रहरूमाथि अख्तियार दिइयो। 8अनि पृथ्वीमा बास गर्ने सबैले त्यस पशुको आराधना गर्नेछन्, अथवा तिनीहरूले, जसका नामहरू संसारको सृष्टिदेखि नै मारिनुभएको थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन्।
9जसको कान छ, त्यसले सुनोस्।
10“यदि कोही कैदका लागि छ भने,
त्यो कैदमा जानेछ।
यदि कसैलाई तरवारले मारिनुछ भने,
त्यो तरवारले नै मारिनेछ।”#13:10 यर्मिया 15:2
परमेश्वरका जनहरूको धैर्यशाली सहनशीलता र विश्वासयोग्यता यसैमा हुनुपर्छ।
पृथ्वीबाट माथि आउने पशु
11तब मैले पृथ्वीबाट माथि निस्कँदैगरेको अर्को पशु देखेँ। त्यसका भेडाका जस्ता दुई सिङहरू थिए, तर त्यो अजिङ्गरले जस्तो बोल्थ्यो। 12त्यसले पहिलो पशुको पक्षमा त्यसको सारा अधिकार चलायो; अनि पृथ्वी र त्यसका बासिन्दाहरूलाई त्यसले त्यो प्राणघातक चोट निको भएको पहिलो पशुको आराधना गर्न लगायो। 13त्यसले अलौकिक चिन्हहरू देखायो, यहाँसम्म कि मानिसहरूले देख्ने गरी त्यसले आकाशबाट पृथ्वीमा आगोसमेत झार्यो। 14त्यस पहिलो पशुको पक्षमा प्रयोग गर्ने अधिकार पाएको अलौकिक चिन्हहरूद्वारा त्यसले पृथ्वीका बासिन्दाहरूलाई बहकायो। तरवारको चोट पाएर पनि त्यसले तिनीहरूलाई जीवित भएको त्यस पहिलो पशुको सम्मानमा मूर्ति बनाउनलाई हुकुम दियो। 15त्यस पहिलो पशुको मूर्तिले बोलोस् भनेर त्यसमा सास हाल्ने अनुमति त्यसलाई दिइयो, यस हेतुले कि त्यस मूर्तिलाई आराधना नगर्ने सबै मारिऊन्। 16त्यसले साना र ठूला, धनी र गरिब, स्वतन्त्र र सेवकहरू सबैलाई आफ्नो दाहिने हातमा अथवा निधारमा त्यसको छाप लगाउन कर लगायो। 17त्यो छापचाहिँ त्यस पहिलो पशुको नाम अथवा त्यसको नामको संख्या हो, यो छापबाहेक कसैले पनि किन्न वा बेच्न नपाउने भयो।
18बुद्धि चाहिने यस्तै बेला हो। जसको समझ छ, त्यसले त्यस पशुको संख्या गनोस्; किनकि यो मानिसको संख्या हो। अनि त्यसको संख्या छ सय छयसट्ठी हो।
अहिले सेलेक्ट गरिएको:
प्रकाश 13: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.