प्रकाश 14
14
थुमा तथा 1,44,000 हजार
1तब मैले हेरेँ, र मेरो सामु सियोन पर्वतमा थुमालाई उभिरहनुभएको देखेँ। उहाँसँग 1,44,000 लाई देखेँ, जसको निधारमा उहाँ र उहाँका पिताको नाम लेखिएको थियो। 2तब मैले स्वर्गबाट जोडसित बग्दै गरेको पानी र ठूलो गर्जनजस्तो आवाज आइरहेको सुनेँ। मैले सुनेको आवाज वीणा वादकहरूले आफ्ना वीणाहरू बजाएको जस्तै थिए। 3तिनीहरूले सिंहासनको सामु ती चार वटा जीवित प्राणीहरूको र प्रधानहरूको सामु एउटा नयाँ गीत गाए। पृथ्वीबाट छुटकारा पाएका ती 1,44,000 ले बाहेक कसैले पनि त्यो गीत सिक्न सक्दैनथे। 4यी मानिसहरू ती हुन्, जो स्त्रीहरूसित बिटुलिएनन्; किनकि तिनीहरूले आफूलाई शुद्ध राखेका थिए। थुमा जहाँ जानुहुन्छ, तिनीहरूले उहाँलाई पछ्याउँछन्। तिनीहरू मानव जातिबाट किनिएका थिए; अनि परमेश्वर र थुमालाई पहिलो फलझैँ चढाइए। 5तिनीहरूका मुखमा कुनै झूट पाइएन; तिनीहरू निर्दोष छन्।
तीन स्वर्गदूतहरू
6तब मैले बीच आकाशमा उडिरहेका अर्को स्वर्गदूतलाई देखेँ, र तिनीसित पृथ्वीमा बस्नेहरू, प्रत्येक राष्ट्र, कुल, भाषा र जातिहरूलाई घोषणा गर्नुपर्ने अनन्तको सुसमाचार थियो। 7तिनले चर्को सोरले भने, “परमेश्वरसित डराओ, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको बेला आएको छ। उहाँको आराधना गर, जसले स्वर्गहरू, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो।”
8दोस्रो स्वर्गदूतले पनि आएर भने सबै राष्ट्रहरूलाई आफ्नो व्यभिचारी कामवासनाको मद्यको कचौरा पिउन लगाउने, “महान् सहर बेबिलोनको पतन भयो! पतन भयो।”#14:8 यशै 21:9
9ती दुई स्वर्गदूतका पछि तेस्रो स्वर्गदूतले चर्को सोरले भने: “यदि कसैले त्यस पशु र त्यसको मूर्तिलाई आराधना गर्छ र त्यसको छाप निधारमा अथवा हातमा लगाउँछ भने, 10त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरको क्रोधको कडा मद्य पिउनेछ। त्यसलाई पवित्र स्वर्गदूतहरू र थुमाको उपस्थितिमा बल्दैगरेको गन्धकमा यातना दिइनेछ। 11अनि तिनीहरूका यातनाको धुवाँ सदासर्वदा उँभोतिर उठिरहनेछ। जसले त्यो पशु र त्यसको मूर्तिको आराधना गर्छन् र जसले त्यसको नामको छाप लगाउँछन्, तिनीहरूले दिनरात आराम पाउनेछैनन्।” 12परमेश्वरका आज्ञाहरू पालन गर्ने, र येशूप्रति विश्वासयोग्य भइरहने परमेश्वरका जनहरूको धीरज र सहनशीलता यसैमा हुनुपर्छ।
13तब मैले स्वर्गबाट आएको एउटा आवाजले यसो भनिरहेको सुनेँ, “यो लेख: अब उसो प्रभुमा मर्नेहरू धन्यका हुन्।”
आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले परिश्रमबाट विश्राम पाउनेछन्; किनकि तिनीहरूका काम तिनीहरूका साथ लाग्नेछन्।”
पृथ्वीको कटनी
14तब मैले हेरेँ, र मेरो सामु एउटा सेतो बादल थियो; त्यस बादलमा एक जना “मानिसको पुत्रजस्तै” बसिरहेको थियो,#14:14 हेर्नुहोस् दानि 7:13 जसको शिरमा सुनको मुकुट र हातमा एउटा धारिलो हँसिया थियो। 15तब मन्दिरबाट अर्का स्वर्गदूत आए, र बादलमा बसिरहनुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिएर कटनी गर्नुहोस्; किनकि कटनीको समय आएको छ, र पृथ्वीको बाली पाकिसकेको छ।” 16यसरी बादलमा बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो; अनि पृथ्वीमा कटनी भयो।
17स्वर्गमा भएको मन्दिरबाट अर्का स्वर्गदूत आए, तिनीसित पनि एउटा धारिलो हँसिया थियो। 18आगोको जिम्मेवारी पाएका अर्का स्वर्गदूत वेदीबाट आए, र धारिलो हँसिया हुनेलाई चर्को सोरमा भने, “तिम्रो हँसिया लिएर पृथ्वीको अङ्गुरका झुप्पाहरू बटुल; किनकि अङ्गुर पाकिसकेको छ।” 19त्यस स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र त्यसमा भएका अङ्गुर बटुले; अनि तिनीहरूलाई परमेश्वरको क्रोधको ठूलो दाखको कोलमा फालिदिए। 20सहर बाहिरको दाखको कोलमा त्यो अङ्गुर कुल्चीमिल्ची गरियो, र दाखको कोलबाट रगत निस्केर आयो। त्यो रगत घोडाको लगामसम्म आयो, र त्यो 300 किलोमिटर#14:20 मूल भाषामा 1,600 स्टेडिया भनिन्छ। सम्म फैलिएको थियो।
अहिले सेलेक्ट गरिएको:
प्रकाश 14: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.