लूका 2
2
प्रभु येशूको जन्म
1ती दिनहरूमा रोमी सम्राट सिजर अगस्टसले उनको साम्राज्यमा हरेक जनाको जनगणना गरियोस् भन्ने हुकुम जारी गरे। 2(कुरेनियस सिरिया राज्यका राज्यपाल हुँदा, यो पहिलो जनगणना भएको थियो।) 3अनि नाउँ दर्ता गर्न सबै आ-आफ्ना शहरमा गए।
4यसरी योसेफ पनि गालील प्रदेशको नासरत शहरबाट यहूदिया प्रदेशमा, दाविदको#2:4 एक शक्तिशाली राजा, जसले येशूभन्दा 1000 वर्षअघि राज्य गरेका थिए शहर बेथलेहेम#2:4 नासरतदेखि बेथलेहेमको दूरी करीब 100 कि.मि. छ। गए, किनकि उनी दाविदकै घराना र वंशका थिए। 5उनी आफ्नो नाउँ दर्ता गर्न मरियमसँगै गए, जसको मगनी उनीसँग भएको थियो, र तिनी गर्भवती थिइन्। 6तिनीहरू त्यहाँ रहेकै बेला, बालक जन्मने बेला भयो, 7र तिनले आफ्नो जेठो छोरो जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्, किनकि तिनीहरूका निम्ति त्यहाँ पौवामा ठाउँ थिएन।
8अनि त्यहाँ नजिकैको चउरमा राती आफ्नो बगालको रखवाली गर्दै बस्ने केही गोठालाहरू थिए। 9त्यस बेला प्रभुका एक स्वर्गदूत तिनीहरूकहाँ देखा परे, अनि प्रभुको ज्योति तिनीहरूका चारैतिर चम्कियो; र तिनीहरू डराए। 10तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनकि म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूको निम्ति हुनेछ। 11आज दाविदको शहर बेथलेहेममा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, उहाँ नै ख्रीष्ट#2:11 ख्रीष्ट अभिषिक्त हो प्रभु हुनुहुन्छ। 12अनि तिमीहरूका निम्ति यो एउटा चिन्ह हुनेछ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेर डुँडमा सुतिरहेको भेट्टाउनेछौ।”
13तब एक्कासि ती स्वर्गदूतको साथमा स्वर्गीय सेनाको एउटा ठूलो भीड परमेश्वरको प्रशंसा गर्दै, यसो भन्दै देखा पर्यो,
14“सर्वोच्चमा परमेश्वरलाई महिमा,
र पृथ्वीमा उहाँको प्रसन्नता पाएका मानिसहरूलाई शान्ति।”
15अनि स्वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गइसकेपछि ती गोठालाहरूले आपसमा भने, “हामी बेथलेहेममा जाऔं, र घटेको यो घटना हेरौं, जसको विषयमा प्रभुले हामीलाई भन्नुभएको छ।”
16त्यसकारण तिनीहरू हतार-हतार गए, अनि मरियम, योसेफ र डुँडमा बालकलाई सुतिरहेका भेट्टाए। 17जब तिनीहरूले उहाँलाई देखे, तब त्यस बालकको विषयमा तिनीहरूलाई जे भनिएको थियो, त्यस बारेमा तिनीहरूले कुरा फैल्याए, 18अनि जतिजनाले यो सुने, गोठालाहरूले तिनीहरूलाई बताएका कुरामा सबैजना आश्चर्य चकित भए। 19तर मरियमले यी सबै कुरा मनैमा राखिन् र त्यस बारेमा गुन्दै बसिन्। 20सबै कुरा तिनीहरूलाई भनिएबमोजिम नै सुनेका र देखेका हुनाले ती सबै कुराहरूका निम्ति परमेश्वरलाई महिमा र प्रशंसा गर्दै गोठालाहरू फर्के।
21उहाँको खतना हुने आठौं दिनपछि उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउनु अघि नै स्वर्गदूतले राख्नू भनी भनेका थिए।
मन्दिरमा येशूको अर्पण
22जब मोशाको व्यवस्थाअनुसार तिनीहरूका शुद्ध हुने समय पूरा भयो, तब योसेफ र मरियमले उहाँलाई प्रभुमा समर्पण गर्न यरूशलेममा ल्याए, 23(जसरी प्रभुको व्यवस्थामा लेखिएको छ, “पहिलो जन्मने हरेक जेठो पुत्र प्रभुका#2:23 प्रस 13:2, 12 निम्ति पवित्र गरिनेछ”), 24अनि “एक जोर ढुकुर अथवा परेवाका दुईओटा बचेरा”#2:24 लेवी 12:8 भनी प्रभुको व्यवस्थाले भनेजस्तै तिनीहरू बलिदान चढाउन गए।
25त्यस समय यरूशलेममा शिमियोन नाउँ गरेका एकजना धर्मी र भक्त मानिस थिए। पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो; अनि तिनले इस्राएलका सान्त्वना दिनुहुनेलाई पर्खिरहेका थिए। 26प्रभुका ख्रीष्टलाई देख्नुभन्दा अघि तिनी मर्नेछैनन् भनी पवित्र आत्माद्वारा उनलाई प्रकट गरिएको थियो। 27त्यस दिन आत्माद्वारा डोर्याइएर तिनी मन्दिरको चोकमा गए। जब बुबाआमाले बालक येशूलाई उहाँको निम्ति व्यवस्थाले मागेअनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, 28तब शिमियोनले उहाँलाई आफ्नो पाखुरामा लिएर परमेश्वरको प्रशंसा गर्दै भने:
29“हे सार्वभौम प्रभु, तपाईंले प्रतिज्ञा गर्नुभएबमोजिम,
अब आफ्नो सेवकलाई शान्तिसित बिदा दिनुहोस्,
30-32किनकि मेरा आँखाले तपाईंको ‘उद्धार’ देखेका छन्,
जो तपाईंले सबै मानिसहरूको दृष्टिमा तयार पार्नुभएको छ,
सबै जातिहरूलाई प्रकाशको निम्ति
र तपाईंका जाति इस्राएललाई महिमाको निम्ति ज्योति।”
33अनि बालकका बुबा र आमा उहाँका विषयमा बोलिएका कुरामा छक्क परे। 34त्यसपछि शिमियोनले तिनीहरूलाई आशीर्वाद दिए, र येशूकी आमा मरियमलाई भने: “यी बालक इस्राएलमा धेरै जनाको पतन र उत्थानको कारण ठहरिनुहुनेछ र उहाँ परमेश्वरबाट पठाइएको चिन्ह हुनुहुन्छ, तर धेरैले उहाँको विरोध गर्नेछन्। 35जसबाट धेरै हृदयका विचारहरू प्रकट हुनेछन्। अनि एउटा तरवारले तिम्रो आफ्नै प्राण पनि छेड्नेछ।”
36त्यहाँ आशेरका कुलका फनुएलकी छोरी हन्ना नाउँ गरेकी एउटी भविष्यवक्तिनी थिइन्। तिनी धेरै वृद्धा थिइन्; र तिनी विवाहपछि सात वर्ष मात्र पतिसँग बसेकी थिइन्, 37अनि तिनी लगभग चौरासी वर्षकी विधवा थिइन्। तिनले कहिल्यै मन्दिर छोड्दिनथिइन्, तर दिनरात उपवास र प्रार्थनासाथ आराधनामा बिताउँथिन्। 38त्यही बेला तिनीहरूकहाँ आएर तिनले परमेश्वरलाई धन्यवाद दिइन्, र यरूशलेमको उद्धारको प्रतीक्षा गर्दै बस्नेहरू सबैलाई बालकको बारेमा बताइन्।
39प्रभुको व्यवस्थाले बताएका सम्पूर्ण काम गरेर सिध्याएपछि, योसेफ र मरियम गालील प्रदेशको आफ्नै शहर नासरत फर्के। 40अनि बालक बढ्दै र बलियो हुँदैजानुभयो; उहाँ बुद्धिले भरिनुभयो र परमेश्वरको अनुग्रह उहाँमाथि थियो।
मन्दिरमा बालक येशू
41येशूका आमाबुबा निस्तार चाडको#2:41 यो इस्राएलीहरूले इजिप्ट देशको 430 वर्षको बन्धनबाट छुटकारा पाएको सम्झनामा मनाइने एउटा विशेष चाड हो निम्ति वर्षेनी यरूशलेम जाने गर्दथे। 42उहाँ बाह्र वर्षको हुनुभएपछि, उहाँहरू चाडको रीतिअनुसार जानुभयो। 43चाड सकिएपछि उहाँका आमाबुबा घर फर्कंदैगर्दा, बालक येशू यरूशलेममै रहनुभयो, तर उहाँका आमाबुबाले यो थाहा पाएनन्। 44उहाँ तिनीहरूकै यात्रीदलमा हुनुहुन्छ होला भन्ने ठानी, तिनीहरू एक दिनभरिको बाटो गए। तब तिनीहरूले उहाँलाई आफ्ना नातेदारहरू र मित्रहरूका बीचमा खोज्न थाले। 45उहाँलाई त्यहाँ नभेट्टाउँदा, तिनीहरू उहाँलाई खोज्न यरूशलेम नै फर्के। 46तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरको चोकमा शिक्षकहरूसँग बसेर तिनीहरूका कुरा सुन्दै र तिनीहरूलाई प्रश्न गर्दैरहनुभएको भेट्टाए। 47उहाँका कुरा सुन्नेहरू सबैजना उहाँको समझ र उत्तरहरूमा छक्क परेका थिए। 48जब उहाँका आमाबुबा उहाँलाई देखेर चकित भए; तब उहाँकी आमाले उहाँलाई भनिन्, “छोरा, तिमीले हामीलाई किन यस्तो व्यवहार गर्यौ? तिम्रा बुबा र म चिन्तित भएर तिमीलाई खोजिरहेका थियौं।”
49उहाँले भन्नुभयो, “तपाईंहरूले मलाई किन खोज्नुभएको? म मेरा पिताको घरमा हुनुपर्छ भनी के तपाईंहरूलाई थाहा थिएन?” 50तर उहाँले तिनीहरूलाई के भन्दैहुनुहुन्थ्यो, त्यो तिनीहरूले बुझेनन्।
51त्यसपछि उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूप्रति आज्ञाकारी बन्नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनैमा राखिन्। 52अनि येशू बुद्धिमा र कदमा, अनि परमेश्वर र मानिसहरूको कृपादृष्टिमा बढ्दै जानुभयो।
Currently Selected:
लूका 2: NCV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.