Akara Njirimara YouVersion
Akara Eji Eme Ọchịchọ

यूहन्‍ना 3

3
निकोदेमस येशूलाई भेट्‍न आएका
1निकोदेमस नाउँ भएका एक जना मानिस यहूदी महासभाका सदस्‍य थिए। उनीचाहिँ फरिसी थिए। 2एक रात उनले येशूकहाँ आएर भने, “गुरुज्‍यू, तपाईं परमेश्‍वरबाटै हामीलाई सिकाउन आउनुभएको हो। यो कुरा हामीलाई थाहा भयो। यदि परमेश्‍वरले साथ दिनुभएन भने कसैले पनि तपाईंले गर्नुभएको जस्‍तो शक्तिशाली कामहरू गर्न सक्‍दैन।”
3येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, नयाँ गरी नजन्‍मिएसम्‍म कसैले पनि परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”
4निकोदेमसले भने, “बुढो भइसकेको मानिस फेरि कसरी जन्‍मिन सक्‍छ? ऊ फेरि आमाबाट जन्‍मिन सक्‍छ र?”
5येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, पानी र आत्‍माबाट नजन्‍मिएसम्‍म कोही पनि परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन। 6शरीरबाट जन्‍मिएको शरीर हो र आत्‍माबाट जन्‍मिएको आत्‍मा हो। 7तिमीहरू नयाँ गरी जन्‍मिनुपर्छ भन्‍ने कुरा सुनेर छक्‍क नपर। 8हावा जता मन लाग्‍यो, त्‍यतै बहन्‍छ। हावाको आवाज त तिमीहरू सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ अनि कहाँ जान्‍छ, तिमीहरूलाई पत्तो हुँदैन। आत्‍माबाट जन्‍मिएको मानिस पनि त्‍यस्‍तै हुन्‍छ।”
9निकोदेमसले भने, “यस्‍तो कसरी हुन सक्‍छ र?”
10येशूले भन्‍नुभयो, “तिमी त इस्राएलीहरूका ठूला गुरु हौ र पनि यी कुरा बुझ्‍दैनौ? 11साँच्‍चै म तिमीलाई भन्‍छु, हामीले जानेका कुराको बारेमा बोल्‍छौं र आफूले देखेका कुरा नै सुनाउँछौं। तर तिमीहरूले चाहिँ हामीले भनेका कुराहरू पत्‍याउँदैनौ। 12मैले यही संसारमा भएको कुराको बारेमा बोल्‍दा त तिमीहरूले पत्‍याउँदैनौ भने झन् स्‍वर्गको बारेमा बोलें भने त कसरी पत्‍याउन सक्‍छौ र? 13स्‍वर्गबाट आउने मानव पुत्रबाहेक अरू कोही पनि स्‍वर्गमा गएको छैन। 14#गन्ती 21:9इस्राएलीहरू उजाड-स्थानमा हुँदा मोशाले पितलको सर्प बनाएर काठमा उचालेर राखेजस्‍तै मानव पुत्र पनि उचालिनुपर्छ। 15यसरी उहाँमाथि विश्‍वास गर्ने सबैले अनन्तजीवन पाउनेछन्।” 16किनभने परमेश्‍वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्‍नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्। 17परमेश्‍वरले त आफ्‍नो एक मात्र पुत्रलाई संसारका मानिसहरूलाई दोषी ठहराउन होइन, तर तिनीहरूलाई बचाउन पठाउनुभएको हो। 18अब परमेश्‍वरको एक मात्र पुत्रमाथि विश्‍वास गर्ने कोही पनि दोषी ठहरिनेछैन, तर उहाँमाथि विश्‍वास नगर्ने जतिचाहिँ दोषी ठहरिसकेका छन् किनभने तिनीहरूले परमेश्‍वरको एक मात्र पुत्रलाई विश्‍वास गरेका छैनन्। 19दोष यसरी लाग्‍छ, उज्‍यालोचाहिँ संसारमा आएको छ अनि मानिसहरूका काम दुष्‍ट भएको हुनाले तिनीहरूले उज्‍यालोलाई भन्दा अँध्‍यारोलाई मन पराउँछन् 20किनभने दुष्‍ट काम गर्ने सबैले उज्‍यालोलाई घृणा गर्छन्। उज्‍यालोमा तिनीहरूले गरेका कामहरू देखिन्‍छन् भन्‍ने डरले तिनीहरू उज्‍यालोमा आउँदैनन्। 21तर सत्‍य कुरा मान्‍ने मानिसचाहिँ उज्‍यालोमा आउँछ र यसरी उसको काम परमेश्‍वरमा गरिएको हो भन्‍ने कुरा छर्लङ्ग देखिन्‍छ।
येशू र यूहन्‍ना
22त्‍यसपछि येशू आफ्‍ना चेलाहरूसँग यहूदिया क्षेत्रमा जानुभयो अनि केही समयको लागि तिनीहरूसँग त्‍यहीँ नै बस्‍नुभयो र बप्‍तिस्‍मा दिनुभयो। 23यूहन्‍नाले पनि सालीमको छेउ एनोन भन्‍ने ठाउँमा बप्‍तिस्‍मा दिँदै थिए किनभने त्‍यहाँ धेरै पानी थियो र त्‍यहाँ पनि मानिसहरू बप्‍तिस्‍मा लिन आइरहन्‍थे। 24#मत्ती 14:3; मर्कूस 6:17; लूका 3:19,20(त्‍यति बेलासम्‍म यूहन्‍ना थुनामा परेका थिएनन्।)
25नुहाएर शुद्ध हुने बारे यूहन्‍नाका चेलाहरूले एक जना यहूदीसँग तर्कवितर्क गर्न लागे। 26तिनीहरूले यूहन्‍नाकहाँ आएर भने, “गुरु, यर्दनपारि हुँदा तपाईंसँग एक जना मानिस हुनुहुन्‍थ्‍यो। तपाईंले हामीलाई उहाँको बारेमा बताउनुभएको थियो। अहिले उहाँले नै बप्‍तिस्‍मा दिदैंहुनुहुन्‍छ र सबै जना उहाँकहाँ पो जाँदै छन्।” 27यूहन्‍नाले जवाफ दिए, “परमेश्‍वरले नदिएसम्‍म मानिसले केही पनि पाउन सक्‍दैन।
28 # यूहन्‍ना 1:20 ‘म मुक्ति दिने ख्रीष्‍ट होइनँ, म त उहाँको अघिअघि पठाइएको मानिस मात्रै हुँ’ भनेर मैले भनेको कुरा तिमीहरू आफैंले सुनेका छौ। 29दुलही दुलहाको हो। दुलहासित उभिने मित्र दुलहाको सोर सुनेर रमाउँछ। त्‍यही नै मेरो आनन्‍द हो र त्‍यो अब पूर्ण भएको छ। 30उहाँ बढ्दै जानुपर्छ, तर मचाहिँ घट्दै जानुपर्छ।”
स्‍वर्गबाट आउनुभएका पुत्र
31माथिबाट आउनुहुनेचाहिँ सबैभन्दा महान् हुनुहुन्‍छ। संसारमा जन्‍मेका मानिसहरूचाहिँ संसारकै हुन्‍छन् र सांसारिक कुरा गर्छन्। तर स्‍वर्गबाट आउनुहुनेचाहिँ सबैभन्दा महान् हुनुहुन्‍छ।
32उहाँले आफूले देखेका र सुनेका कुरा नै भन्‍नुहुन्‍छ। तापनि उहाँले भन्‍नुभएका कुरा कसैले पत्‍याउँदैनन्। 33तर उहाँले भन्‍नुभएका कुरा पत्‍याउनेले चाहिँ परमेश्‍वर सत्‍य हुनुहुन्‍छ भनेर ठोकुवा गर्छ। 34परमेश्‍वरबाट पठाइएको व्‍यक्तिले परमेश्‍वरकै कुरा बोल्‍नुहुन्‍छ किनभने परमेश्‍वरले उहाँलाई आफ्‍नो आत्‍माको भरपूरी दिनुभएको छ। 35#मत्ती 11:27; लूका 10:22परमेश्‍वरले आफ्‍नो पुत्रलाई माया गर्नुहुन्‍छ र सबै कुरा उहाँकै हातमा राखिदिनुभएको छ। 36परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्नेसँग अनन्त जीवन हुन्छ, तर पुत्रको आज्ञा नमान्‍नेले चाहिँ कहिल्‍यै पनि अनन्त जीवन पाउनेछैन। तर परमेश्‍वरको क्रोध उसमाथि परिरहन्‍छ।

Mee ka ọ bụrụ isi

Kesaa

Mapịa

None

Ịchọrọ ka echekwaara gị ihe ndị gasị ị mere ka ha pụta ìhè ná ngwaọrụ gị niile? Debanye aha gị ma ọ bụ mee mbanye