लूका 17
17
पाप, विश्वास र कर्तव्य
1येशूले उहाँका चेलाहरूलाई भन्नुभयो: “मानिसहरूलाई पाप गर्न लाउने ठक्करहरू त आउनु वाध्य नै छ, तर धिक्कार तिनीहरूलाई, जसद्वारा ती आउँछन्। 2यी सानाहरूमध्ये एकजनालाई पाप गर्न लाउनुभन्दा त त्यसलाई एउटा जाँतो त्यसको घाँटीमा बाँधेर समुद्रमा फालिदिनु असल हुनेथियो। 3त्यसकारण आफैलाई जाँच गर।
“यदि तिम्रा भाइले#17:3 अर्थात् यो समग्रमा दाजुभाइ, दिदीबहिनी सबैलाई भनिएको हो पाप गर्यो भने त्यसलाई हप्काऊ; र त्यसले पश्चात्ताप गर्यो भने त्यसलाई क्षमा गर। 4अनि त्यसले तिम्रो विरुद्धमा दिनमा सातपल्ट पाप गर्यो र सातैपल्ट फर्केर आएर तिमीलाई ‘म पश्चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।”
5प्रेरितहरूले प्रभुलाई भने, “हाम्रो विश्वास बढाइदिनुहोस्!”
6उहाँले जवाफ दिनुभयो, “यदि तिमीहरूमा सानो रायोको दानाजत्रो मात्रै पनि विश्वास छ भने तिमीहरूले यो किम्बुको रूखलाई ‘तँ उखेलिएर समुद्रमा रोपिन जा’ भनी भन्न सक्छौ, र यसले तिम्रो आज्ञा मान्नेछ।
7“मानौं तिमीहरूमध्ये कसैको एउटा सेवक खेत जोत्न अथवा भेडा चराउन गएको छ, के उसले त्यो सेवकलाई खेतबाट त्यो फर्केर आएपछि ‘अब आइज र खान बस्’ भन्छ र? 8बरु उसले, ‘मेरो खाना तयार गर्, आफूलाई तयार राख र मैले खानपान नगरून्जेल मेरो सेवाटहल गर्; त्यसपछि तैंले खानपान गर्न सक्नेछस्’ भनी भन्दैन र? 9सेवकले त्यसलाई अह्राइएको काम गरेकोले उसले त्यस सेवकलाई धन्यवाद दिन्छ र? 10त्यसै गरी तिमीहरूले पनि जब तिमीहरूलाई अह्राइएका सबै कामहरू गरिसक्छौ, तब यसो भन्नुपर्छ, ‘हामी अयोग्य सेवक हौं, हामीले त केवल आफ्ना कर्तव्य मात्र पालन गरेका छौं।’ ”
दश कुष्ठरोगीहरू निको भएका
11यरूशलेम जाने आफ्नो यात्राको क्रममा येशू सामरिया र गालील प्रदेशबीचको सिमाना भएर जाँदैहुनुहुन्थ्यो। 12उहाँ कुनै गाउँमा पस्न लाग्नुहुँदा कुष्ठरोग लागेका दशजनाले उहाँलाई भेटे। तिनीहरू केही टाढै उभिए, 13अनि चर्को सोरमा उहाँलाई विन्ती गरे, “हे येशू, गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!”
14तिनीहरूलाई देखेर उहाँले भन्नुभयो, “जाओ र आफैलाई पूजाहारीकहाँ#17:14 लेवी 14:2-32 देखाओ।” अनि तिनीहरू जाँदाजाँदै निको भए।
15तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को सोरमा परमेश्वरको प्रशंसा गर्दै फर्केर आयो। 16अनि ऊ येशूको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो; त्यो एक सामरी थियो।
17येशूले सोध्नुभयो, “के दशै जना नै निको भएका होइनन् र? अरू नौजना कहाँ छन्? 18के फर्कि आएर परमेश्वरलाई प्रशंसा दिन यो परदेशीबाहेक अरू कोही भएनन्?” 19त्यसपछि उहाँले त्यसलाई भन्नुभयो, “उठ र जाऊ, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
परमेश्वरको राज्यको आगमन
20फरिसीहरूद्वारा परमेश्वरको राज्य कहिले आउँछ भनी सोधिएपछि येशूले जवाफ दिनुभयो, “परमेश्वरको राज्य तिमीहरूको अनुमान गराइमा आउँदैन, 21न ता मानिसहरूले ‘यो यहाँ छ,’ अथवा ‘त्यहाँ छ,’ भनी भन्नेछन्, किनकि परमेश्वरको राज्य त तिमीहरूभित्र नै छ।”
22त्यसपछि आफ्ना चेलाहरूलाई उहाँले भन्नुभयो, “समय आउँदैछ, जब तिमीहरूले मानिसका पुत्रलाई कुनै एक दिन हेर्ने इच्छा गर्नेछौ, तर तिमीहरूले देख्नेछैनौ। 23मानिसहरूले तिमीहरूलाई, ‘ऊ त्यहाँ छ!’ अथवा ‘हेर, ऊ यहाँ छ!’ भन्नेछन्, तर तिनीहरूका पछि दगुर्दै नजाओ। 24किनकि जसरी बिजुली चम्कँदा आकाशको एक छेउदेखि अर्को छेउ उज्यालो हुन्छ, मानिसका पुत्रले पनि आफ्नो दिनमा त्यस्तै गर्नेछन्। 25तर पहिले उनले धेरै कष्टहरू भोग्नुपर्छ, अनि यस पुस्ताबाट तिरष्कृत गरिनुपर्छ।
26“नूहको दिनमा जस्तो भएको थियो, मानिसका पुत्रका दिनहरूमा पनि त्यस्तै हुनेछ। 27नूह जहाजभित्र पस्ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका र गराइँदैथिए। तब जलप्रलय आयो र तिनीहरू सबैलाई नष्ट पार्यो।
28“लोतका#17:28 उत्प 19 दिनमा पनि त्यस्तै थियो। मानिसहरू खाइरहेका, पिइरहेका, किनबेच गरिरहेका, रोपिरहेका र बनाइरहेका थिए। 29तर लोतले सदोम छोडेकै दिनमा आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नष्ट पार्यो।
30“मानिसका पुत्र प्रकट हुने दिनमा ठीक यस्तै हुनेछ। 31त्यस दिन कोही घरको छानामाथि हुनेछ, र त्यसका मालसामान घरभित्र छन् भने, ती थोकहरू लैजानलाई त्यो तल नओर्लोस्। त्यसै गरी खेतमा हुने कोही पनि केही लिन फर्केर नजाओस्। 32लोतकी पत्नीलाई सम्झ! 33जसले आफ्नो जीवन बचाउन खोज्छ, त्यसले त्यो गुमाउनेछ; र जसले आफ्नो जीवन गुमाउँदछ, त्यसले त्यो बचाउनेछ। 34म तिमीहरूलाई भन्दछु, त्यस रात दुईजना मानिस एउटै ओछ्यानमा हुनेछन्; एकजना लगिनेछ र अर्को छोडिनेछ। 35दुई स्त्रीहरू सँगसँगै अन्न पिँधिरहेका हुनेछन्, एउटी लगिनेछे र अर्की छोडिनेछे। 36दुईजना मानिसहरू खेतमा हुनेछन्, एउटा लगिनेछ र अर्को छोडिनेछ।#17:36 प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन”
37तिनीहरूले सोधे, “कहाँ, प्रभु?”
उहाँले जवाफ दिनुभयो, “जहाँ सिनु हुन्छ, त्यहाँ गिद्धहरू भेला गरिनेछन्।”
Zvasarudzwa nguva ino
लूका 17: NCV
Sarudza vhesi
Pakurirana nevamwe
Sarudza zvinyorwa izvi
Unoda kuti zviratidziro zvako zvichengetedzwe pamidziyo yako yose? Nyoresa kana kuti pinda
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.