बालबालिकाहरूका लागि बाइबलकोनमूना
हामीलाई कसले बनायो? परमेश्वरको वचन बाइबलले मानवजातिको सुरुवात् कसरी भयो भनी बताउँछ। धेरै पहिला परमेश्वरले पहिलो मानिस बनाउनुभयो र तिनको नाम आदम राख्नुभयो। परमेश्वरले आदमलाई भूमिको धूलोबाट बनाउनुभयो। परमेश्वरले आदमभित्र जीवनको स्वास फुकिदिनुभएपछि तिनी जीवित बने। अनि तिनलाई अदन भनिने सुन्दर बगैंचामा राखियो।
परमेश्वरले आदमलाई बनाउनुभन्दा पहिला अति सुन्दर कुराहरूले भरिएको मनमोहक संसार बनाउनुभयो। एकएक गरी परमेश्वरले डारुडाहरू र मैदानहरू, सुगन्धित फूलहरू र अग्ला रूखहरू, अनि रङ्गिचङ्गी चराहरू र भूँभूँ गर्दै उड्ने माहुरीहरू, आहाल खेल्ने ह्वेल र चिप्लेकिराहरू बनाउनुभयो। वास्तवमा परमेश्वरले संसारमा पाइने सबै कुरा बनाउनुभयो - सबै कुरा।
सबैभन्दा सुरुमा, परमेश्वरले कुनै पनि कुरा बनाउनुभन्दा अगाडि, परमेश्वरबाहेक केही पनि थिएन। कुनै मानिस, कुनै ठाउँ वा कुनै कुरा पनि थिएन। केही पनि थिएन। उज्यालो र अँध्यारो थिएन। डाँडा र खँच थिएन। हिजो र भोलि थिएन। परमेश्वरमात्र हुनुहुन्थ्यो जसको कुनै सुरुवात् थिएन। त्यसपछि परमेश्वरले काम गर्नुभयो। सबैभन्दा सुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।
अनि पृथ्वी आकारबिनाको र शून्य थियो। अनि चारैतिर अन्धकार थियो। तब परमेश्वर बोल्नुभयो, “उज्यालो होस्।”
अनि उज्यालो भयो। परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो। अनि पहिलो दिनको साँझ पर्यो र बिहान भयो।
दोश्रो दिनमा परमेश्वरले महासागर, समुद्र र तालका पानीलाई आकाशमुनि मिलाएर राख्नुभयो। तेश्रो दिनमा परमेश्वरले भन्नुभयो, “सुक्खा जमीन देखियोस्।”अनि त्यसो नै भयो।
परमेश्वरले घाँस र फूलहरू अनि बोट र रूखहरू देखिऊन् भनेर पनि आज्ञा गर्नुभयो। अनि ती देखा परे। अनि तेश्रो दिनको साँझ पर्यो र बिहान भयो।
त्यसपछि परमेश्वरले घाम र जून अनि कसैले पनि गन्न नसक्ने गरी अति धेरै ताराहरू बनाउनुभयो। अनि चौंथो दिनको साँझ पर्यो र बिहान भयो।
त्यसपछि परमेश्वरले जलजन्तुहरू, माछा र चराहरू बनाउनुभयो। पाँचौं दिनमा उहाँले विशाल र सुक्ष्म माछाहरू, लामो खुट्टा हुने असट्रिच र खुसी हुँदै उड्ने फिस्टे चरा बनाउनुभयो। परमेश्वरले पृथ्वीको पानीमा खेल्ने हरेक किसिमका माछा अनि जमीन, समुद्र र आकाशमा रमाउँदै डुल्ने हरेक किसिमका चराचुरुङ्गी बनाउनुभयो। अनि पाँचौं दिनको साँझ पर्यो र बिहान भयो।
त्यसपछि परमेश्वर फेरि बोल्नुभयो। उहाँले भन्नुभयो, “पृथ्वीमा जीवित जन्तुहरू होऊन्....” अनि हरेक किसिमका जनावर, कीरा र घस्रने जन्तुहरू उत्पत्ति भए। जमीनै हल्लाउने हात्तीहरू र व्यस्त रहने बिभरहरू देखा परे। उपद्रो गर्ने बाँदरहरू र भद्दा गोहीहरू। बाङ्गाटिङ्गा गड्यौलाहरू र अभद्र लोखर्केहरू। अग्ला जिराफहरू र घुर्ने बिरालाहरू। त्यस दिन परमेश्वरले सबै किसिमका जनावर बनाउनुभयो। अनि छैटौं दिनको साँझ पर्यो र बिहान भयो।
परमेश्वरले छैटौं दिनमा अर्को काम पनि गर्नुभयो - जुन अत्यन्त विशेष थियो। अब सबै कुरा मानिसको निम्ति तयार थियो। मानिसको लागि जमीनमा खाने कुरा र सहायता गर्ने जनावरहरू थिए। अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई हाम्रै स्वरूपमा बनाऔं। उसले पृथ्वीको हरेक कुरामाथि अधिकार गरोस्।”त्यसैले परमेश्वरले मानिसलाई उहाँकै स्वरूपमा बनाउनुभयो। परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई बनाउनुभयो.....
परमेश्वरले आदमलाई भन्नुभयो, “तिमीले बगैंचाबाट जे मन लाग्छ खाऊ। तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिरु नखानू। त्यो रूखको फल खायौ भने तिमी अवश्य मर्नेछौ।”
अनि परमप्रभु परमेश्वरले भन्नभयो, “मानिस एक्लै रहनु असल छैन। म उसको निम्ति एकजना सहयोगी बनाउनेछु।”परमेश्वरले आदमको सामु सबै चराहरू र जनावरहरू ल्याउनुभयो। आदमले ती सबैको नाम राखे। तिनले अत्यन्त चलाखीसाथ त्यो काम गरे। तर ती सबै चराहरू र जनावरहरूको माझमा आदमको लागि सुहाउने जोडी पाइएन।
परमेश्वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो। अनि तिनको एउटा करङ्ग झिकेर त्यसबाट परमेश्वरले स्त्री बनाउनुभयो। यसरी परमेश्वरले बनाउनुभएको स्त्री आदमको निम्ति अत्यन्त सुहाउने जोडी भइन्।
परमेश्वरले छ दिनमा सबै कुरा बनाउनुभयो। त्यसपछि परमेश्वरले सातौं दिनलाई आशिष् दिनुभयो र त्यसलाई विश्रामको दिन बनाउनुभयो। अदनको बगैंचामा आदम र तिनकी श्रीमती हव्वा परमेश्वरको आज्ञा पालन गर्दै खुसीसाथ बसे। परमेश्वर तिनीहरूका मालिक, पालनहार र मित्र हुनुहुन्थ्यो।
समाप्त
धर्मशास्त्र
यस योजनाको बारेमा
यो सबै कसरी सुरु भयो? हामी कहाँ बाट आयो? संसारमा किन यति दुखाइ छ? कुनै आशा छ? त्यहाँ मृत्यु पछि जीवन छ? संसारको यो वास्तविक इतिहास पढ्ने जवाफहरू फेला पार्नुहोस्।
More
हामी Bible for Children, Inc लाई यो योजना प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://bibleforchildren.org/languages/nepali/stories.php