YouVersion लोगो
खोज आइकन

बालबालिकाहरूका लागि बाइबलकोनमूना

बालबालिकाहरूका लागि बाइबलको

दिन 6 को 8

एउटी महिला कोलाहलपूर्न डाँडामा उभिइन्, उनका दुखित आँखाले एउटा भयानक दृश्य हेरिरहेका थिए। उनका पुत्र मर्दै हुनुहुन्थ्यो। आमाचाहिँ मरियम थिइन् र उनी येशूलाई क्रूसमा कीला ठोकेर टाँगिएको ठाउँ नजिकै उभिएकी थिइन्।

यो सबै कसरी भयो? कसरी येशूको सुन्दर जीवन यस्तो भयानक तरिकाले दुङ्गिन सक्यो? कसरी परमेश्‍वरले आफ्ना पुत्रलाई क्रूसमा टाँगिएर मर्न दिनुभयो? के येशूले कुनै गल्ती गर्नुभयो? के परमेश्‍वर असफल हुनुभयो?

अहँ! परमेश्‍वर असफल हुनुभएको थिएन। येशूले कुनै गल्ती गर्नुभएको थिएन। दुष्‍ट मानिसहरूले आफूलाई मार्ने कुरा येशूलाई पहिलादेखि नै थाहा थियो। येशू बालकै हुनुहुँदा नै शिमियोन नाम गरेका वृद्ध मानिसले यो दुःखको कुरा मरियमलाई भनेका थिए।

येशू मारिनुभन्दा केही दिन अगाडि एउटी स्त्रीले उहाँका पाउमा सुगन्धित मल्हम खन्याइन्। “उनले पैसाको बर्बादी गरिरहेकी छिन्,” चेलाहरूले गुनासो गरे। “उनले असल काम गरेकी छिन्,” येशूले भन्‍नुभयो। “उनले यो काम मेरो अन्तिम संस्कारको निम्ति गरेकी हुन्।”कति अनौठा वचनहरू!

त्यसपछि येशूका बाह्रजना चेलाहरूमध्ये एक यहूदाले येशूलाई धोका दिने र तीस टुक्रा चाँदीमा उहाँलाई मुख्य पूजाहारीको हातमा पक्राइदिने निर्णय गर्यो।

यहूदी निस्तार चाडको भोजमा येशूले आफ्ना चेलाहरूसँग अन्तिम भोजन खानुभयो। उहाँले तिनीहरूलाई परमेश्‍वरको बारेमा र उहाँलाई प्रेम गर्नेहरूप्रति उहाँले गर्नुभएका प्रतिज्ञाहरूका बारेमा आश्‍चर्यजनक कुराहरू भन्नुभयो। त्यसपछि येशूले तिनीहरूले बाँडेर खाऊन् भनी तिनीहरूलाई रोटी र कचौरा दिनुभयो। यी कुराहरूले चाहिँ येशूको शरीर र रगत पापहरूको क्षमादान ल्याउनको निम्ति अर्पण गरिएका थिए भन्‍ने कुरा स्मरण गराउँछन्।

त्यसपछि येशूले आफूलाई धोका दिइने र चेलाहरू भागेर जाने कुरा आफ्ना साथीहरूलाई भन्‍नुभयो। पत्रुसले जोर दिँदै भने, “म भाग्नेछैनँ”। अनि येशूले भन्‍नुभयो, “आज भाले बास्‍नुभन्दा अगावै तिमीले मलाई तीनपल्ट अस्वीकार गर्नेछौ”।

पछि त्यही रातमा येशू गेतसमनीको बगैंचामा प्रार्थना गर्न जानुभयो। उहाँसँगै भएका चेलाहरू निदाए। “हे मेरा पिता,” येशूले प्रार्थना गर्नुभयो, “....यो कचौरा मबाट हटाइदिनुहोस्। तरै पनि मैले इच्छा गरेबमोजिम होइन तर तपाईंले इच्छा गर्नुभएबमोजिम होस्।”

अचानक मानिसहरूको एउटा भीड त्यो बगैंचाभित्र पस्यो जसको अगुवाइ यहूदाले गरेको थियो। येशूले प्रतिवाद गर्नुभएन तर पत्रुसले एकजनाको कान काटिदिए। शान्त भएर येशूले त्यो मानिसको कान छोइदिनुभयो र उसलाई निको पारिदिनुभयो। उहाँको पक्राउ परमेश्‍वरको इच्छाको एउटा अंश थियो भन्‍ने येशूलाई थाहा थियो।

त्यो भीडले येशूलाई प्रधान पूजाहारीको घरमा लग्यो। त्यहाँ यहूदी अगुवाहरूले येशू मर्नैपर्छ भनी भने। नजिकै, पत्रुसले चाहिँ नोकरहरूले आगो बालेका ठाउँमा उभिएर येशूलाई हेरिरहे। मानिसहरूले तीनपटक पत्रुसलाई नियालेर हेरे र भने, “तिमी येशूसँगै थियौ!” येशूले भन्‍नुभएझैं पत्रुसले यो कुरालाई तीनपटक अस्वीकार गरे। पत्रुसले सराप हालेर कसमसमेत खाए।

'कु खु री काँ आँ आँ' त्यति बेला नै भाले बास्यो। त्यो त परमेश्‍वर पत्रुससँग बोल्नुभएको जस्तै भयो। येशूका वचनलाई सम्झेर पत्रुस भक्‍कानो फुटाएर रोए।

यहूदाले पनि पछुतो गर्‍यो। येशू कुनै पनि पाप वा अपराधको दोषी हुनुहुन्थेन भन्‍ने उसलाई थाहा थियो। यहूदाले तीस टुक्रा चाँदी फिर्ता दियो तर पूजाहारीहरूले त्यो लिन मानेनन्। यहूदा त्यो पैसा भुइँमै फालेर बाहिर गयो - अनि झुण्डिएर आत्महत्या गर्‍यो।

पूजाहारीहरूले येशूलाई रोमी राज्यपाल पिलातसको सामु ल्याए। पिलातसले भने, “म यी मानिसमा कुनै दोष पाउँदिनँ।”तर भीड चिच्‍चाइरह्यो, “त्यसलाई क्रूसमा टाँगियोस्! त्यसलाई क्रूसमा टाँगियोस्!”

अन्त्यमा पिलातसले भीडकै कुरा माने र येशूलाई क्रूसमा टाँगेर मार्ने सजाय दिए। सिपाहीहरूले येशूलाई मुक्‍का हाने, उहाँको अनुहारमा थुके र उहाँलाई कोर्रा लगाए। तिनीहरूले लामा तीखा काँडाहरूले बनाइएको मुकुट उहाँको शिरमा गाडेर लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई काठको क्रूसमा कीला ठोकी झुण्ड्याएर मारे।

येशूलाई आफू त्यस प्रकारले मर्ने कुरा पहिलादेखि नै थाहा थियो। उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँको मृत्युले पापको क्षमादान ल्याइदिनेथियो भन्‍ने कुरा पनि उहाँ जान्‍नुहुन्थ्यो। येशूका दुईतिर दुईजना अपराधीहरू पनि क्रुसमा टाँगिएका थिए। एउटाले येशूमाथि विश्‍वास गर्‍यो र स्वर्ग गयो। अर्कोले चाहिँ विश्‍वास गरेन।

घण्टौंसम्म कष्‍ट भोगेपछि येशूले भन्‍नुभयो, “अब पूरा भयो”र उहाँ मर्नुभयो। उहाँको काम पूरा भयो। उहाँका साथीहरूले उहाँलाई एउटा व्यक्तिगत चिहानमा गाडे।

त्यसपछि रोमी सिपाहीहरूले त्यो चिहानलाई बन्द गरेर पहरा दिए। अब त्यहाँबाट कोही पनि भित्रबाहिर गर्न सक्दैनथ्यो।

यहाँ नै कथा टुङ्गिने भए कति दुःखलाग्दो हुन्थ्यो होला। तर परमेश्‍वरले एउटा अचम्मको काम गर्नुभयो। येशू मरेको मर्‍यै हुनुभएन।

हप्‍ताको पहिलो दिन बिहान सबेरै येशूका केही चेलाहरूले चिहानको मुखमा राखिएको विशाल ढुङ्गा गुड्याइएको देखे। तिनीहरूले भित्र हेर्दा येशू त्यहाँ हुनुहुन्थेन।

एउटी महिला रुँदै चिहान नजिकै बसिन्। येशू उनीकहाँ देखा पर्नुभयो! उनी अरू चेलाहरूलाई बताउनको निम्ति खुसी हुँदै दगुरेर गइन्। “येशू जीवित हुनुहुन्छ! येशू मरेकाहरूबाट पुनःजीवित हुनुभएको छ!”

छिट्टै नै येशू चेलाहरूकहाँ आउनुभयो र कीलाले छेंडेका आफ्ना हात तिनीहरूलाई देखाउनुभयो। त्यो साँचो थियो। येशू पुनःजीवित हुनुभयो! उहाँलाई अस्वीकार गरेकोमा उहाँले पत्रुसलाई क्षमा दिनुभयो र उहाँको बारेमा सबैलाई बताउन आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो। त्यसपछि उहाँ स्वर्ग फर्केर जानुभयो जहाँबाट उहाँ पहिलो ख्रीष्‍टमसको दिनमा आउनुभएको थियो।

समाप्‍त

धर्मशास्त्र

दिन 5दिन 7

यस योजनाको बारेमा

बालबालिकाहरूका लागि बाइबलको

यो सबै कसरी सुरु भयो? हामी कहाँ बाट आयो? संसारमा किन यति दुखाइ छ? कुनै आशा छ? त्यहाँ मृत्यु पछि जीवन छ? संसारको यो वास्तविक इतिहास पढ्ने जवाफहरू फेला पार्नुहोस्।

More

हामी Bible for Children, Inc लाई यो योजना प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौं। थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: https://bibleforchildren.org/languages/nepali/stories.php